ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका मुख्यमन्त्री शाह नेतृत्वको टोली किन जाँदैछ भारत ?

शनिबार १३, बैशाख २०८२ ०१:२९

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली भारत भ्रमणमा जाँदै छ । १६ बैशाखदेखि २२ गतेसम्म हुने भारत भ्रमणमा मुख्यमन्त्री शाहसहित १० सदस्यीय टोली सहभागी हुने छ ।

भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलको नेता घनश्याम चौधरी, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, माओवादी केन्द्रका प्रदेशसभा सदस्य झपट साउद लगायतका १० जना सहभागी हुने मुख्यमन्त्री शाहले जानकारी दिए ।

मुख्यमन्त्री शाहका अनुसार १६ गते काठमाडौंबाट दिल्ली प्रस्थान हुँदै भारत भ्रमण सुरु हुने छ । `दिल्लीमा केही मन्त्रीसंग भेटघाटको कार्यक्रम तय भएको छ,´ मुख्यमन्त्री शाहले भने, `विवेकानन्द फाउन्डेसनमा अन्तरक्रिया कार्यक्रम पनि छ । संसद भवन र प्रधानमन्त्री संग्रहालय भ्रमणको कार्यक्रम पनि छ । एनएचपिसीसंग पनि बैठक छ ।´

मुख्यमन्त्री शाहका अनुसार दिल्लीको कार्यक्रम सकेर टोली उत्तराखण्डको देहरादुन पुग्ने छ ।

त्यहाँ उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसंग भेट्ने र त्यसपछि टोली लखनउ पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंग भेटेर टोली धनगढी पुग्ने मुख्यमन्त्री शाहले बताए ।

`भारत भ्रमणले सुदूरपश्चिम सरकारले आयोजना गर्ने लगानी सम्मेलनलाई पनि सहयोग पुग्ने अपेक्षा गरेका छौं,´ उनले भने, `जनस्तरको सम्बन्ध सुधारका लागि पनि भारत भ्रमण महत्वपूर्ण हुने अपेक्षा गरेका छौं ।´

प्रतिक्रिया