ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

फेरि सेलायो धनगढीबाट आयल निगमको डिपो सार्ने प्रक्रिया

बिहिबार १८, बैशाख २०८२ ०९:०८

धनगढी । सुदूरपश्चिममा इन्धन वितरण गर्ने नेपाल आयल निगमको धनगढीस्थित प्रादेशिक कार्यालय स्थानान्तरण प्रक्रिया फेरि सेलाएको छ । गतवर्ष माघ पहिलो साता निगमले पत्रकार सम्मेलन गर्दै डिपोलाई नयाँ ठाउँमा सार्नका लागि जग्गा प्राप्ति प्रक्रिया थालिएको बताएकोमा अहिले उक्त प्रक्रिया सेलाएको हो । 

पत्रकार सम्मेलनमा निगमको भण्डारण क्षमता वृद्धि परियोजना प्रमुख प्रदीप यादवले डिपो सार्नका लागि सरकारी जग्गा खोजी गरे पनि नपाएपछि निजी जग्गा किन्न लागेको जानकारी दिएका थिए । यादवले कैलालीको गोदावरी–८ स्थित पूर्वपश्चिम राजमार्ग नजिकै २० बिगाह १६ कठा ८ धुर जग्गामा डिपो सार्ने घोषणा गरेका थिए । पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘कैलालीको गोदावरी नगरपालिका– ८, अत्तरिया क्षेत्रमा जग्गा पनि भेटिएको छ । खरिदका लागि आवश्यक प्रक्रिया अघि बढेको छ ।’

प्रमुख जिल्ला अधिकारी संयोजकत्वको जग्गा प्राप्तिसम्बन्धी समितिमार्फत खरिद गर्न लागिएको र विवाद नहुने गरी काम गर्ने यादवले बताएका थिए । ‘निगम सञ्चालक समिति र मन्त्रिपरिषद्बाट स्वीकृत गराई जग्गा किन्नेछौँ,’ उनले भनेका थिए । यो प्रक्रिया चैत मसान्तभित्रै सकिने र तीन महिनापछि अर्थात् ०८२ साल वैशाख पहिलो साता डीपीआर तयार गरी डिपो शिलान्यास गर्नेसमेत भनिएको थियो । 

तर, आयल निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले धेरै वटा जग्गामा अध्ययन हुनुपर्ने भन्दै उक्त जग्गामा डिपो सार्न स्वीकृति नदिएपछि प्रक्रिया सेलाएको बतायएको छ । अन्य जग्गाको अध्ययनका लागि गिरिराजमणि उपाध्यायको अध्यक्षतामा निगमले एउटा समिति पनि गठन गरेको छ । तर, समितिले अहिलेसम्म कुन स्थानमा सार्ने टुङ्गो लगाउन नसकेको बताए । 

हाल धनगढीको चटकपुरमा एक बिगाह आठ कठ्ठा जग्गामा डिपो सञ्चालनमा छ । उक्त डिपोले पेट्रोलियम पदार्थको माग धान्न नसक्ने अवस्था आएकाले सार्नुपर्ने भएको हो । त्योसंगै डिपो घनाबस्तीले घेरिएपछि स्थानीय बासिन्दाले पनि जोखिम बढेको भन्दै सार्नुपर्ने माग गर्दै आएका छन् । 

निगमले यसअघि पनि कञ्चनपुर जिल्लाको पुनर्वास–३ र ६ स्थित राष्ट्रिय आवास कम्पनीको ७४ बिगाहमध्ये २२ बिगाह जग्गामा डिपो सार्ने भन्दै जग्गा माग गरेको थियो । तर उक्त जग्गा उपलब्ध हुने अवस्था नभएपछि कैलालीको अत्तरियामा जग्गा खोजिएको थियो ।

प्रतिक्रिया