ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा कयौं पद रिक्त, राजनीतिक नियुक्तिमा ढिलाइ

शुक्रबार १९, बैशाख २०८२ १०:०७

धनगढी । सुदूरपश्चिम प्रदेशमा राजनीतिक नियुक्तिका कयौं पद रिक्त भएका छन् । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमाले सम्मिलित राजनीतिक संयन्त्रको बैठकले तत्काल रिक्त पदमा नियुक्ति गर्ने सहमति गरे पनि दर्जनौं पद रिक्त छन् । सुदूरपश्चिमका रिक्त पदमा भागबण्डा गरी नियुक्त गर्ने कांग्रेस–एमालेले निर्णय गरेका थिए । 

सुदूरपश्चिम प्रदेशमा प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति, प्रदेश युवा परिषद्, प्रदेश नीति तथा योजना आयोग, प्रदेश लोकसेवा आयोग, मुख्य न्यायाधिवक्ता, चार वटा पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समिति, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, जिल्लास्तरीय अस्पताल र आयुर्वेद चिकित्सालयको व्यवस्थापन समितिमा राजनीतिक नियुक्ति हुँदै आएको छ । 

०७८ फागुन २९ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले अस्पताल व्यवस्थापन समितिमा राजनीतिक नियुक्ति गरेको थियो । सेती प्रादेशिक अस्पतालको अध्यक्षमा नरबहादुर शाह र महाकाली प्रादेशिक अस्पतालमा कृष्णानन्द भट्ट नियूक्त भएका थिए । त्यस्तै, टीकापुर अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा झपटबहादुर सोडारी, अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरामा मानबहादुर कार्की, बझाङमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालमा पार्वती भट्ट नियुक्त भएका थिए । सरकारले जिल्ला अस्पताल डोटीको अध्यक्षमा धनबहादुर नेपालीलाई ०७८ चैतमा नियुक्त गरेको थियो । 

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश मातहतका सबै अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष र सदस्यको पद रिक्त भएको छ । दुई प्रादेशिक अस्पतालमध्ये सेतीमा काँग्रेस र महाकालीमा एमालेले अध्यक्ष पाउनेबारे छलफल भए पनि नियुक्ति हुन सकेको छैन । 

०७७ चैतमा चार वर्षका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा दीपकबहादुर सिंह नियुक्त भएका थिए । उनको कार्यकाल पनि ९ चैतदेखि सकिएको छ । योसंगै सदस्यसचिवको पद पनि रिक्त भएको छ । परिषद्को सदस्य सचिवमा काँग्रेसले नै दाबी गरेको छ । 

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरको चार वर्षे कार्यकाल पनि आगामी जेठमा सकिँदै छ । परिसद्मा उपाध्यक्ष नियुक्तिमा एमालेको दाबी छ ।  

प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सिफारिसमा चार वटा पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिमा अध्यक्ष, कार्यकारी निर्देशक र तीन सदस्य मन्त्रीपरिषद्ले नियुक्त गर्दै आएको छ । त्यसमध्ये अछामको वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा गोकुल भाट नियुक्ति भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले साँफेबगर नगरपालिका– ७ रिडिकोट निवासी भाटलाई अध्यक्षमा नियुक्ति गरेको हो । भाटले यसअघि वैद्यनाथ क्षेत्र विकास संस्थाको सहअध्यक्ष थिए । यस्तै समितिको सदस्यमा लक्ष्मी शाह, पूर्णनाथ योगी, समुन्द्रा लुहार, नैनसिंह थलारी, पुष्पराज भट्ट, मोहन बोहरा र पूर्ण खड्का नियुक्त भएका छन् । 

रामारोश पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिमा पनि अध्यक्षलगायतको पद रिक्त छ । यस्तै खप्तड पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समिति पनि माघदेखि रिक्त छ । बडीकेदार क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर बोहराको कार्यकाल भने ०८२ असारसम्म छ । 

रिक्त रहेको प्रदेश नीति तथा योजना आयोगमा भने पदपुर्ती भइसकेको छ । आयोगको उपाध्यक्षसहित दुई सदस्य काँग्रेसको भागमा परेको छ भने दुई सदस्य एमालेले पाएको छ । यस्तै, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानमा कुलपति पद पनि रिक्त छ ।
 

प्रतिक्रिया