धनगढी । जातीय विभेदका घटनाको दलनले पूर्णकालीन राजनीतिक यात्रातर्फ मोडिएकी दार्चुलाकी लक्ष्मी बिक कलिलै उमेरमा जिल्ला तहका विभिन्न निकायको अनुुभव प्राप्त गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य बनिन् । छोटो अवधि भए पनि उनले सुदूरपश्चिमबाट प्रदेश सरकारमा दलित समुदायबाट पहिलो क्याबिनेट मन्त्री बन्ने इतिहास पनि रचिन् ।
उनी राजनीतितर्फ मोडिनाका अनेक घटनाहरु छन् । तर, बिर्सनै नसकिने केही घटनाले उनलाई राजनीतितर्फ दृढ बनाउँदै लग्यो । उनलालाई लाग्थ्यो– ‘आफूले र समुदायले भोगिरहेको विभेदको अन्त्य राजनीतिका माध्यमबाट मात्रै गर्न सकिन्छ ।’ त्यही दृढताले उनलाई नीति निर्माणको उपल्लो तहमा पुु¥यायो पनि ।
०५६ सालतिरको कुरा हो । गाउँमा हुने प्रौढ कक्षा सञ्चालन लक्ष्मीकै घरमा हुन्थ्यो । वरिपरि चारैतिर गैरदलित समूदायको बसोवास, बीचैमा एक्लो दलित समुदायकी लक्ष्मीको मात्रै घर । एक दिन प्रौढ कक्षा चलिरहेकै बेला एकजना गैरदलित समुदायकी बृद्धा पनि लक्ष्मीको घरमा आइन् । ती बृद्धाले लक्ष्मीकी भाउजु र उनलाई देखेर लक्ष्मीकी आमालाई सोधिन्– ‘यी राम्रीराम्री को हुन् ? । आमाले आफ्ना बुहारी र छोरी भन्दै चिनाइन् । ती बृद्धाले फेरि यिनीहरुको नाम के हो भनेर पनि सोधिन् । लक्ष्मीकी आमाले पनि एकएक गरि चिनापर्ची गराउँदै भनिन्– ‘त्यो जेठो बुहारी गीता, माइली पार्वती र उ छोरी लक्ष्मी ।’
नाम सुुनेर ती बृद्धावस्थाकी गैरदलित महिलाले दलितहरुले पनि यस्ता राम्रा नाम राख्न मिल्छ त ? भनेपछि टाढैबाट सुनिरहेकी लक्ष्मीलाई निकै घोच्यो । त्यो सुनेर लक्ष्मीलाई ‘के दलितहरुले नाम पनि राम्रो राख्न नहुने हो र ?’ भन्न मन थियो । तर उनकी आमाले एक्लो दलित परिवार छौं बोल्न हुन्न, अप्ठेरो हुुन्छ भन्दै छोरीलाई सम्झाइरहेकी हुन्थिन् । त्यस घटनाले उनको मन धेरै दुुख्थ्यो ।
०३९ मंसिर १२ गते जन्मिएकी लक्ष्मीले बालखैमा पनि जातीय विभेदको घानमा पिल्सनुु पर्दा गहिरो चोट महसुुस गरेकी थिइन् । बाल्यावस्थाकै घटना हो, जतिबेला उनी कञ्चनपुरको बैजनाथ मावि कक्षा ६ मा पढ्थिन् । त्यसबेला पूर्वव्यावसायिक विषयमा पाक शिक्षा भन्ने पाठ थियो । त्यस पाठमा अभ्यास नै गर्नुपर्ने हुन्थ्यो ।
उक्त पाठको अभ्यासको दिन शिक्षकले कक्षाका विद्यार्थीलाई समोसा पकाउने अभ्यास गर्ने योजना बनाए । ‘हामी सबै भेला भयौ । विद्यार्थीहरु सबै आ–आफ्नो काममा जुुट्यौं । तर मलाई शिक्षकले नै तिमी लाग्न पर्दैन अरुले गरिहाल्छन् भने । तर मैले मानिन । जिद्दी गरेर मैले समोसा पकाउने खाद्य सामग्रीमा हात हाले र पकाउन थाले,’ लक्ष्मीले भनिन्, ‘तर मैले पकाएका समोसा अलग्गै राखियो । दलित भएकैले मलाई अछुुत व्यवहार गरिएको भन्ने थाहा पाए । तर पनि अब पिट्छन् कि भन्ने डर पनि मनमनै थियो । तर केही गरेनन् । तर मेरो मनमा त्यस घटनाले गहिरो चोट लाग्यो ।’
लक्ष्मीको जीवनमा विदेभका घटनाले जरा गाडेको छ । उनका बाजे कालुु लोहारले बैजनाथ आधारभूत विद्यालयलाई १६ धुर जग्गा दिएका थिए । विद्यालयको सहयोग सूचीमा पाँच सय नगद दिनेको पनि नाम थियो । तर, जग्गा नै दान दिएका उनका बाजेको नाम भने थिएन । दलित समूदायको भएकैले सहयोग सूचीमा नाम राख्न अप्ठेरो मानिएको रहेछ भन्न धेरै पछि थाहा पाएको उनी बताउँछिन् ।
डोटीको गिरीचौका सौखोला हालको शिखर नगरपालिकाबाट कालुु लोहारको परिवार ०२२ सालमै कञ्चनपुरमा बसाई सरेको थियो । त्यसबेला तराईमा अहिलेको जस्तो घना बसोवास थिएन । सुरुतिरकै बसोवास भएकाले कालुु लोहारको परिवारसंग जग्गाजमिन पनि प्रसस्तै थियो । उनै कालुु लोहारको नातिनी लक्ष्मी कञ्चनपुरको भीमदत्त नगरपालिका– १४ बनकट्टीका बीरबहादुर बिक र चन्द्रादेवी बिकका तीन छोरा र दुुई छोरीमध्ये साहिली सन्तान हुन् ।
लक्ष्मीको पढाइलेखाई कञ्चनपुरमै भयो । आठ कक्षासम्म बैजनाथ आधारभूत विद्यालयमा अध्ययन गरिन् । एसएलसी सरस्वती मावि मजगाउँबाट उतीर्ण भइन् । सिद्धनाथ बहुमुखी क्याम्पसबाट शिक्षा शास्त्र संकायबाट आइएड गरिन् । सोही क्याम्पसबाट जनसंख्या विषयमा स्नातक गरिन् । आमाबाबुले अरु छोराछोरी जस्तै लक्ष्मी पनि जागिरे बनुुन् भन्ने चाहन्थे । तर उनको जीवन यात्रा भने पूर्णकालीन राजनीतितर्फ मोडियो ।
लक्ष्मीले आफ्नो उपनाम सपना राखेकि थिइन् । सपना उपनाम राख्नुका पछाडि रहर र लहड नभई गहिरो अर्थ रहेको उनको दाबी छ । सामाजिक विभेदको जाँतोबाट मूक्तिको सपना थियो उनमा ।
लक्ष्मीका बुुवा खेती किसानी गर्ने भए पनि आमा चन्द्रादेवी राजनीतिमा थिइन् । चन्द्रादेवी ०५४ सालको तत्कालीन गाविसको निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्य निर्वाचित भएकी थिइन् । त्यसैबाट लक्ष्मीलाई पनि राजनीतितर्फ सक्रिय हुन सहज वातावरण मिलेको थियो ।
०५६ सालमा विधार्थी जीवनदेखि नै राजनीतिमा आवद्ध भएकी लक्ष्मीले मोहनबिक्रम सिंहका कितावहरु पढ्न थालेपछि राजनीतितर्फ आकर्षण बढ्दै गएको सुनाइन् । त्यसैमा साथसंगत पनि एकता केन्द्र मसालका समर्थक कार्यकर्ताहरुसंग हुन थालेपछि उनले ०५९ एकता केन्द्र मसालको पार्टी सदस्यता लिइन् । ०६० सालमा जातीय समता समाजको कञ्चपुरको जिल्ला सचिव भइन्, ०६१ सालमा अनेमसंघ कञ्चनपुरको जिल्ला कोषाध्यक्ष, ०६२ सालमा जनमोर्चा नेपालको महेन्द्रनगर नगर कमिटी सदस्य, ०६३ सालमा जनमोर्चा जिल्ला कमिटी सदस्य हुँदै ०६४ सालमा अनेरास्ववियु छैठौको जिल्ला अध्यक्ष र महिला संगठन क्षेत्रीय अध्यक्ष भएकी लक्ष्मीको संविधानसभाको समानुपातिक उम्मेदवारको सूचीमा पनि नाम समावेश थियो ।
तर, सफता भने मिलेन । ०६५ सालमा राष्ट्रिय जनमोर्चाको दार्चुला जिल्ला उपाध्यक्ष र नेकपा मसालको सेती महाकाली क्षेत्रीय ब्यूरो सदस्य रहेकी लक्ष्मी ०६७ सालमा राष्ट्रिय जनमोर्चा र माओवादीबीच एकतापछि उनी एकीकृत माओवादीमा प्रवेश गरिन् । माओवादीमा गएपछि उनले सेती महाकाली राज्य कमिटी सचिवालय सदस्यको जिम्मेवारी सम्हालिन् ।
माओवादीमा प्रवेश गरिसकेपछि सातौं महाधिवेशनमा प्रतिनिधि भइन् । ०७४ सालमा माओवादी केन्द्रकोतर्फबाट दार्चुलाको मालिकार्जुन गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार तथा प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार पनि भइन् । तर दुुबैमा उनी निर्वाचित हुन सकिनन् ।
हुन त लक्ष्मीले सक्रिय राजनीति सुरु गर्दादेखि राज्यसंन्त्रका विभिन्न निकायमा रहेर कामको अनुुभव प्राप्त गर्ने अवसर पाइन् । ०६३ शुक्लाफाँटा आरक्ष पीडित आयोगको सदस्य, ०६५–०६७ सम्म दार्चुलामा सर्वदलीय राजनितिक संयन्त्रको सदस्य, ०६८–०७१ सम्म नेपाल सरकार, दलित वर्ग उत्थान जिल्ला समन्वय समिति दार्चुलाको उपाध्यक्ष रहेर काम गर्ने अवसर पाइन् ।
उनको परिवारको दार्चुलातिर कुनै नाता सम्बन्ध थिएन । आमाबाबुले पनि छोरीको विवाह तराइमै होस् भन्ने चाहन्थे । तर उनको विवाह सम्बन्ध भने दार्चुुलामा जुुर्न पुुग्यो । सज्जन पढेलेखेको योग्य वर भयो भने दुुर्गमको भन्दैमा केही फरक नपर्ने उनको धारणा थियो ।
आमाबुवालाई मञ्जुर गराएरै ०६५ सालमा दार्चुुलाको मालिकार्जुन गाउँपालिका– ७ जोल्जिबीका दिवानीराम लोहारसंग उनले विवाह गरिन् । दिवानीरामसंग विवाहको सन्दर्भ सम्झदा उनलाई अहिले पनि रोमाञ्चक लाग्छ । आमाबुवा छोरीलाई पहाडतिर पठाउन चाहदैनथे । तर। संगै पार्टीमा क्रियाशील रहेका दिवानीरामसंग बसेको मायाप्रितिका अगाडि आमाबाबुुको केही चलेन । लक्ष्मीकै जिद्दीमा लक्ष्मीले दिवानीरामसंग विवाह गरिन् र दार्चुुलातिर घरजम गरिन् । विवाहपछि लक्ष्मी पूर्णकालिन राजनीतिलाई निरन्तरता दिइन् र उनका श्रीमान दिवानीराम भने सरकारी जागिरको तयारीमा जुटे । दिवानीराम अहिले नेपाल सरकारको न्याय सेवाअन्तर्गत शाखा अधिकृत छन् ।
अझै पनि छोरीलाई अशं नदिने समाजमा लक्ष्मीका आमाबुवाले भने पहाड विवाह गरेकी भएर उनलाई कञ्चनपुरमा दुुई कठ्ठा जमिन नाममा गरिदिए । कान्छी बहिनीले तराइमै विवाह गरेकीले उनलाई एक कठ्ठा घरवास नाममा गरिदिएका थिए ।
लक्ष्मी ०७९ सालको प्रदेशसभा निर्वाचनमा समानुुपातिक निर्वाचनको सूचीमा परिन् । दुुई पटक असफल भए पनि तेस्रो प्रयासमा भने सफलता मिल्यो । उनको संसदीय यात्रा प्रदेशसभा सदस्यबाट सुरु भयो ।
प्रदेश सांसद निर्वाचित भएपछि उनलाई खुसी त लाग्ने नै भयो, त्योभन्दो धेरै खुसी उनका परिवारमा छायो । प्रदेशसभा सदस्य पदको सपथ गर्दाकै बखत लक्ष्मीको मनमा उत्साह र कौतुहलता थियो । ‘पछाडी परेको वर्ग समुदायका लागि केही सुधारको पहल गर्छुु भन्ने उद्देश्य थियो, कानुुन निर्माणमा भूमिका खेल्छुु, विकास निर्माणमा काम गर्छु भन्ने थियो,’ लक्ष्मीले सम्झिदै भनिन् ।
प्रदेशसभा सदस्यको यात्रा तय भइसकेपछि उनी खुड्किलाहरु उक्लिदै गइन् । ०८१ जेठ २८ गते विनाविभागीय मन्त्री नियुक्त भएकी लक्ष्मीले सुदूरपश्चिम प्रदेश सरकारमा दलित समूदायको तर्फबाट पहिलो क्याबिनेट मन्त्री हुने इतिहास पनि रचिन ।
विना विभागीय मन्त्री भएको एक महिनापछि करिब २० दिनपछि असार १६ गते सामाजिक विकास मन्त्रालय विभाजन गरेर बनाइएको शिक्षा, युवा तथा खेलकुद मन्त्रालयमा मन्त्रीको जिम्मेवारी पाइन् । मन्त्रालय विभाजन गर्ने निर्णय सच्च्याइएपछि उनी साउन १० गते आन्तरिक मामिला तथा कानुन मन्त्रीको रुपमा भदौ १९ गतेसम्म जिम्मेवारीमा रहिन् ।
‘सुदूरपश्चिममा दलित समूदायबाट पहिलो क्याबिनेट मन्त्री भए, इतिहासमा त नाम लेखियो तर अस्थिर राजनीति र केही दिनको मन्त्री भएकाले चाहेको काम भने गर्न पाइएन,’ उनले भनिन्, ‘तर पनि मन्त्री भएका बेला कैलालीका वादी समूदायका लागि डेढ करोड रकम छात्रवृत्ति योजना क्याबिनेटमा लिएर पारित गराए । विगतमा रोकिएका अन्य छात्रवृत्ति रकम पनि निकासा गराए ।’
लक्ष्मी आफैलाई पनि अहिलेको राजनीति गञ्जागोल भएको लाग्छ । उनी आफू त्यति खुसी नरहेको बताउँछिन् । ‘राजनीतिमा लागेर पदमा पुुगेपछि समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरुला भन्ने लाग्थ्यो । तर सोचेजस्तो नहुने रहेछ,’ उनी भन्छिन्, ‘चुनावी घोषणापत्रमा पनि धेरै कुरा लेखेका हुुन्छौं । तर जिम्मेवारीमा गएपछि खासै केही गर्न नसकिने रहेछ । संसदीय अंक गणितले सरकार गठन र फाल्नमै ठिक्क छ । भागबण्डाको राजनीतिले राम्रो गरिरहेको छैन ।’ अर्कोतिर संसदीय राजनीतिमा पार्टीको ह्रवीपले पनि कतिपय चाहेकै कुरा पनि बोल्न नपाइने अवस्थाप्रति पनि उनको चित्त बुुझेको छैन ।
प्रदेश संरचनाप्रति जनगुनासाहरु बढ्दै गएका बेला प्रदेश संसदमा रहेकी र प्रदेश सरकारमा मन्त्रीको अनुुभव समेत लिइसकेकी लक्ष्मीलाई स्वम पनि दुुई वर्षमा खासै उपलब्धी भएन जस्तो लाग्छ । ‘यस अवधिमा संसद पनि निरन्तर चलिरहेको छैन,’ उनी भन्छिन्, ‘संसद सुस्त भएकोले आफ्नै परिचय पनि हराउला जस्तो भएको छ ।’ साथै, सेवा सुविधाका कानुुनहरु प्राथमिकतामा पर्छन्, तर सर्वसाधारणका लागि महत्व राख्ने सवालहरुमा सरकार र प्रदेशसभाको ध्यान नगएको उनको बुुझाई छ ।
छोटो समय मन्त्री भएकी उनले सरकारका कामहरु प्रभावकारी नहुनका कतिपय कारणहरु पनि थाहा पाइन् । प्रदेशको भूमिका नै संकुचित रहेको उनको अनुुभव छ । ‘अस्तव्यस्तता पनि अर्को कारण हो,’ उनले भनिन्, ‘संघीयता भनिए पनि स–सानो कामका लागि पनि काठमाडौंको निर्देशनको पालना गर्नुपर्ने अवस्था छ । वा सोध्नुपर्ने अवस्था छ । केन्द्रीय मानसिकता छ सबै दलभित्र ।’
छोटो अवधिमै मन्त्री पदबाट बाहिर हुनु परे पनि संसदीय समितिको भूमिका प्रभावकारी भए हुन्थ्यो भन्ने लाग्छ उनलाई । तर समितिका काम कार्बाहीहरु पनि सोचेजस्तो प्रभावकारी हुन नसकेको उनको बुुझाई छ । प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिमा सदस्य रहेकी लक्ष्मीलाई समितिको भूमिका पनि कर्मकाण्डी लागिरहेको छ । ‘एउटै कानुन बनाउन कयौं महिना लाग्ने पनि हुन्छ त,’ उनले भनिन्, ‘म आफ्नो ठाउँबाट आवाज त उठाइरहको हुन्छुु, तर पनि सन्तुुष्ट छैन । त्यसैमा कतिपय सन्दर्भमा त बोल्न पनि संकुचित गर्ने अवस्था छ ।’
आफ्ना कठिनाई र उल्झनहरु एकातिर भए पनि आम नागरिक र शुुभेच्छुकहरुको प्रश्नको घेराले भनि सधैं घोचिरहन्छ । तर, पनि आफ्ना प्रतिवद्धताहरु नडगमगाएको उनको भनाई छ । सधैं सताइरहने जातिय विभेदको व्यवहार उनका लागि सबैभन्दा पीडादायी लाग्छ । ‘सुदूरपश्चिममा दलितलाई मान्छे नै मान्दैनन् । यहाँका महिलाहरु पनि पिल्सिएका छन् । महिला र दलित सशक्तिकरणका सवालहरु मेरो प्राथमिकताका सवाल हुन्,’ उनले भनिन्, ‘यी सवालहरुमा बाध्यकारी कानुन बनाउन सकियो भने हुुन्थ्यो भन्ने लाग्छ । जस्तो, मन्त्रीपरिषदमा दलित, महिला अनिवार्य हुनुपर्ने कानुनी प्रावधान भयो भने मनमर्जी हुन्थेन ।’
साथै, भएका कानुनहरुको प्रभावकारी कार्यान्वयमा जोड दिने र नभएका कानुुनहरु बनाउन आफ्नो संसदीय सीमा, क्षमता र योग्यताले भ्याएसम्म भूमिका निर्वाह गर्छुु भन्नेमा छिन् उनी । ‘सुशासन, रुपान्तरणसहितको सामाजिक न्याय मुख्य सवाल हो । राजनीतिक व्यवस्था फेरिए पनि नागरिकको अवस्था फेरिएन,’ उनले भनिन्, ‘राजनीतिमा व्यक्तिगत स्वार्थ हावी भएको छ । हामी राजनीतिज्ञले त्यसतर्फ सिरियस हुनै पर्दछ ।’ कक्षा आठमा पढ्ने छोरा र चार वर्षकी छोरी हुुर्काउँदै गरेकी प्रदेश सांसद लक्ष्मी भन्छिन्, ‘आधा कार्यकाल अझै बाँकी छ । केही राम्रो गर्न सकिन्छ की भन्ने आशा मरेको छैन ।’
प्रतिक्रिया