धनगढी । सुदूरपश्चिम प्रदेशसभाको पहिलो कार्यकालमा माओवादी केन्द्रले लगातार पाँच वर्ष सत्ताको नेतृत्व ग¥यो । पाँच वर्ष नै प्रदेश सरकारको नेतृत्व गर्ने सौभाग्य पाएका थिए, माओवादी केन्द्रका त्रिलोचन भट्टले । त्यो पाँच वर्षमा माओवादीले भनेजस्तै एजेन्डा लागू गर्न सुदूरपश्चिम प्रदेशलाई कुनै समस्या पनि थिएन ।
२०७५ असारमा तत्कालीन प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेशसभा सञ्चालन भएको लामो समय बितिसक्दा पनि राजधानीको नाम र स्थानबारे संसदमा छलफल नै नभएको भन्दै संसद सचिवालयमा प्रस्ताव दर्ता ग¥यो । त्यसको झण्डै एक महिनापछि १४ साउन २०७५ मा तत्कालीन सभामुख अर्जुनबहादुर थापाले प्रदेशको नामाङ्कन र स्थायी राजधानी निर्धारण गर्न विशेष सुझाव समिति गठन गरिएको जानकारी प्रदेशसभा बैठकमा गराए ।
उक्त समितिले ५ भदौ २०७५ मा तत्कालीन सभामुख थापालाई प्रदेश नम्बर ७ को नामांकन र स्थायी राजधानी निर्धारणसम्बन्धी प्रतिवेदन बुझायो । प्रतिवेदनमा प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका– ४ स्थित गोदावरी वनक्षेत्रलाई बनाउन सुझाव दिइयो ।
९ असोजमा उक्त प्रतिवेदन प्रदेशसभामा पेस गरिएको थियो । प्रतिवेदन पेस भएको तीन दिनपछि १२ असोज २०७५ को प्रदेशसभा बैठकले दुईतिहाइमार्फत तत्कालीन प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका– २ र ४ को वन क्षेत्रलाई बनाउने प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्तावको पक्षमा तत्कालीन नेकपा (एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी)का ३८ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टी नेपालका दुई सांसदले मतदान प्रक्रियामा सहभागिता जनाएका थिएनन् ।
माओवादी नेतृत्वकै सरकारले स्थायी राजधानी कैलाली तोकेकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आफूले डोटी नै राजधानी बनाउन खोजेको तर आफ्नो केही नलागेको बताउन थालेका छन् ।
शनिबार माओवादी केन्द्रले सुरु गरेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा डोटीको दीपायलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । ‘शान्ति सम्झौतामा हस्ताक्षर गरेर संविधानसभाको निर्वाचन अगाडि म डोटी आएको थिए,’ प्रचण्डले भने, ‘त्यतिबेला डोटी नै सुदूरपश्चिम प्रदेशको केन्द्र हुन्छ भनेको थिए । तर, अन्ततः हाम्रो त्यतिबेला केही लागेन । प्रदेशको केन्द्र कैलाली हुनपुग्यो ।’
प्रचण्डले अखण्ड सुदूरपश्चिमको नाराले डोटीमा भएको केन्द्रलाई कैलालीमा र्पुयाएको पनि बताए । ‘सुदूरपश्चिम अखण्ड हुनुपर्छ भन्ने बहस चल्यो,’ उनले भने, ‘अखण्ड सुदूरपश्चिमको नाराले डोटीमा भएको केन्द्रलाई कैलालीमा र्पुयाएको हो । अखण्ड भन्ने त राम्रो शब्द भयो, अखण्ड सुदूरपश्चिम भन्ने कुरा मिठो लाग्ने पनि भयो । तर, त्यो अखण्डले डोटीको औचित्य र अधिकारलाई कुण्ठित ग¥यो भन्ने बुझ्न जरुरी छ ।’
माओवादी केन्द्रको जिल्ला समन्वय समिति डोटीले राजधानी खोसिएपछि डोटीवासीमा निराशा छाएको भन्दै प्रचण्डलाई मागपत्र बुझाएपछि उनले सम्बोधनका क्रममा यस्तो बताएका हुन् । स्थायी राजधानी कैलाली तोकेपछि डोटीमा लामोसमयसम्म आन्दोलन भएको थियो । त्यो समयमा माओवादी अध्यक्ष प्रचण्ड र नेता लेखराज भट्टको चाहनाअनुसार स्थायी राजधानी कैलाली तोकिएको चर्चा थियो ।
देश संघीय संरचनामा जानुअघि सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम डोटी थियो । ०७४ साल माघ ३ गते तत्कालीन प्रदेश नम्बर ७ को अस्थायी मुकाम नेपाल सरकारले धनगढी तोकेको थियो । सो समयमा नेपालका सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवा थिए ।
प्रतिक्रिया