धनगढी । विभिन्न प्रकारका हिंसा र जोखिममा परेका महिला तथा बालबालिकालाई सुरक्षित आश्रय दिनका लागि बैतडीको पाटन नगरपालिकाले सुरक्षित आवाश गृह सञ्चालनमा ल्याएको छ । नगरपालिकाले नयाँ भवन निर्माण गरेर सुरु गरेको आवाश गृह हिंसामा परेका, बलात्कृत महिला तथा बालबालिकाको आश्रय स्थल बनेको छ । यो जिल्लाको एकमात्र सुरक्षित आवाश गृह हो । सुरक्षित आवाश गृहमा नगरपालिकाभित्रका मात्र नभइ जिल्लाका सबै पालिकाका पीडितलाई आश्रय दिने गरिएको छ ।
नगरपालिकाले सुरक्षित आवाश गृहका लागि छुट्टै भवन निर्माण गरेको छ । नगरपालिकाको तथ्यांकअनुसार अल्पकालीन सुरक्षित आवाश गृहबाट हालसम्म करिब साढे छ सय महिला लाभान्वित भएका छन् । लैङ्गिक तथा घरेलु हिंसामा परेका, बलात्कृत आदिले सेवा लिएका हुन् । यो आवाश गृह बलात्कृत, विभिन्न प्रकारका हिंसामा परेका र बेचविखनको सिकार भएका महिला तथा बालबालिकाको लागि माइतीघरजस्तै बनेको छ ।
नगरपालिकाले हिंसामा परेका महिलाका लागि अल्पकालीन आश्रयस्थलमात्र बनाएको छैन, लैंङ्गिक हिंसा अन्त्यका लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरु पनि गर्दै आएको छ । लैङ्गिक हिंसा पीडितको उद्दार गर्न तथा हिंसामा परेकाहरुलाई परेकाहरुलाई मनोपरामर्श दिनका लागि मनोसामाजिक कार्यकर्तासमेत परिचालन गर्ने गरिएको छ ।
नगरपालिकाका १० वटा वडामध्ये पाँच वटा वडामा मनोसामाजिक कार्यकर्ता परिचालन गरिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले जानकारी दिए । उनीहरुले लैङ्गिक हिंसापीडितलाई परामर्शसँगै उद्दार गर्ने गरेका नगर प्रमुख रावलले बताए ।
‘हामीले नगरपालिकाभित्रका सेवाग्राहीमात्र नभइ सबै पालिकाका पीडित सेवाग्राहीलाई आश्रय स्थलमा बस्ने सुविधा दिएका छौँ । जिल्लाभरिबाट सेवा लिन आउँछन्’ नगर प्रमुख रावलले भने, ‘मनोमरार्शकर्ताले उनीहरुलाई आवश्यक काउसेलिङ गर्छन् ।’ मनोसामाजिक परामर्शका लागि परामर्शकर्ता खटाइएको उनले बताए ।
लैङ्गिक हिंसापीडितको उद्दार गर्न तथा मनोपरामर्श दिनका लागि पाँच वटा वडामा मनोसामाजिक परामर्शकर्ता नियुक्त गरेर परिचालन गरिएको रावलले जानकारी दिए । लैङ्गिक हिंसा विरुद्ध सचेतनामुलक कार्यक्रमहरु पनि गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सुरक्षित आवाश गृह सञ्चालनमा ल्याएपछि न्यायका लागि प्रहरीकहाँ पुग्ने पीडितलाई राख्न प्रहरीलाई पनि सहज भएको छ । हिंसामा परेका, बलात्कृत महिला तथा बालबालिका र बेचविखनमा परेका महिला, बालबालिका लागि सुरक्षित आवाश गृह माइती घरजस्तै बनेको नगर प्रमुख रावल बताउँछन् ।
प्रतिक्रिया