ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
ओभर लोडले पटक-पटक झर्छ तार

बस्तीमाथि धराप जस्तै अत्तरिया–धनगढी प्रसारण लाइन

शुक्रबार ३०, जेठ २०८२ ११:००

धनगढी । नेपाल विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्र २०४२ सालमा स्थापना भएको थियो । त्यसैको पेरीफेरीमा अत्तरिया–धनगढी विद्युत प्रसारण लाइन बनेको बताइन्छ ।

प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक जंगबहादुर चन्दले ०४२ सालमा स्थापना भएको धनगढी वितरण केन्द्रले केही वर्ष भारतको पलियाबाट आएको विद्युत वितरण गरेको थियो । ०४८ सालमा धनगढीमा सबस्टेशन बनेसंगै अत्तरिया–धनगढी ३३ केभी प्रसारण लाइनसमेत बनेपछि धनगढी वितरण केन्द्र अत्तरियाबाट आएको विद्युत वितरण गर्न थालेको निर्देशक चन्दले बताए ।

उनका अनुसार अत्तरिया–धनगढी प्रसारण लाइन बनेको ३४ वर्ष भयो । सामान्यता विद्युत प्रसारण लाइनमा जडान गरिएको विद्युत कन्डक्टरको आयु १५ देखि २० वर्षसम्मको हुन्छ । तर, ३४ वर्षमा एकपटक पनि विद्युत कन्डक्टर नफेरिएको निर्देशक चन्दले बताए । उनले सो प्रसारण लाइनको कन्डक्टर, तार र टावरको संरचना परिवर्तन तथा क्षमता विस्तार गर्नुपर्ने बेला भइसकेको भए पनि त्यस्तो कुनै योजना नरहेको बताए । 

‘प्रसारण लाइनमा लगाएको कन्डक्टर गर्मीमा तातो र हिउँदमा चिसो हुन्छ,’ निर्देशक चन्दले भने, ‘यसले गर्दा गर्मीमा तार फैलिन्छ र चिसोमा खुम्चिन्छ । तार धेरै तन्किने र खुम्चिने हुँदा कहिलेकाँही चुडिएर खस्छ । तातोचिसो हुँदा कन्डक्टर पनि कमजोर हुँदै जान्छ । एकपटक लगाएको कन्डक्टर १५ देखि २० वर्ष चल्छ । त्यसपछि काम गर्न छोड्छ र विद्युत प्रशारणमा समस्या आउँछ ।’

निर्देशक चन्दले भने जस्तै धनगढी अत्तरिया प्रसारण लाइनमा समस्या देखिन थालेको छ । कमजोर भइसकेको अत्तरिया–धनगढी ३३ केभी प्रशारण लाइनमा बढ्दो विद्युत लोडले गर्दा तार चुडिएर खस्न थालेको छ । गत वर्ष मात्रै ओभरलोड भएर तीन पटक तार झरेको धनगढी वितरण केन्द्रले जनाएको छ । एक पटक धनगढीको चटकपुर, एक पटक गेटामा र अर्को पटक अत्तरियामा तार झरेको वितरण केन्द्रका प्राविधिक लालबहादुर चन्दले बताए ।

प्राविधिक चन्दले आफूले ०५२ सालमा प्राधिकरणमा जागिर सुरु गर्दा देखेको संरचनाले अहिलेसम्म विद्युत सेवा धान्दै आएको बताए । उनले आफू आएदेखि अत्तरिया–धनगढी प्रसारण लाइन मर्मतसमेत नभएको बताए । ‘फल्ट भइसकेपछि बिग्रेको ठाउँमा बनाएर विद्युत सुचारु गर्नुबाहेक मर्मत कार्य भएको छैन,’ उनले भने, ‘अब त यो प्रसारण लाइनलाई पुनर्निमाण गर्नुपर्ने भइसकेको छ ।’

अत्यधिक विद्युत लोडले गर्दा पटकपटक ट्रिपिङको समस्या समेत आउने गरेको छ । प्रसारण लाइनले लोड धान्न नसकेपछि अत्तरियास्थित ग्रिडमा ट्रिपिङ हुने गरेको विद्युत प्राधिकरणको प्रादेशिक कार्यालयले जनाएको छ । ओभर लोडको कारण दिनमै कैयौं पटक ट्रिप हुने गरेको छ ।

प्रसारण लाइनबाट बस्ती जोखीममा, बस्तीले गर्दा प्रसारण लाइन अपग्रेडमा चुनौती
३३ केभी प्रशारण लाइनको तार खस्ने खतरा बढेकोले प्रसारण लाइन छेउछाउका बस्तीहरु जोखीममा छन् । ३३ केभीको तार खसेर बस्तीमा आगलागी हुने, करेन्ट लाग्ने लगातका जोखीम बढेको छ ।

निर्देशक चन्दले ३३ केभी प्रसारण लाइनको छेउछाउमा ठुला घर समेत बनेको हुँदाले एकातिर प्रसारण लाइनबाट बस्ती जोखीममा परेको छ भने प्रसारण लाइनको क्षमता विस्तारमा समेत चुनौती थपिएको बताए । 

‘खेतै खेत भएर प्रसारण लाइन गएको छ, जग्गाधनीले फेरि बनाउन दिन्छन् कि दिदैनन्,’ उनले भने, ‘बजारतिर प्रसारण लाइनकै छेउमा ठुला घर बनेका छन् । घर बनाउन अनुमति दिनेले पनि जोखीम आकलन गरी घर बनाउन दिनु नपर्ने थियो । प्रसारण लाइन अपग्रेडमा थुप्रै चुनौती थपिएको छ ।’

न मर्मत, न त पुननिर्माणको योजना
विद्युत प्रसारणमा अत्यधिक समस्या आउन थालेपछि प्राधिकरणले ०८० कात्तिक १ गतेबाट उल्फ कन्डक्टर राखेर ३३ केभी क्षमताको नयाँ प्रसारण लाइन सञ्चालन गरेको छ । ‘३३÷३३ केभी क्षमताको पुरानो र नयाँ प्रसारण लाइन आएको विद्युत सात वटा फिडरमा वितरण भइरहेको छ,’ प्राविधिक चन्दले भने, ‘दुई फिडरमा पुरानो लाइनबाट र पाँच वटा फिडरमा नयाँ लाइनबाट विद्युत जान्छ ।’

पुरानो लाइनबाट २५० एम्पिएर र नयाँ लाइनबाट पाँच सय एम्पिएर विद्युत प्रबाह हुने गरेको छ । दुई वटा प्रसारण लाइनबाट आएको विद्युतसमेत धनगढीमा अपुग भएको बताउँदै निर्देशक चन्दले पुरानो प्रसारण लाइनलाई अपग्रेड गर्नुपर्ने बताए । ‘पुरानो प्रसारण लाइन टारवबाट गएको छ,’ उनले भने, ‘टावर लगायत प्रसारण लाइनकै पुनर्संरचना गरेर क्षमता विस्तार गरी ६४ केभी प्रसारण लाइन बनाउन पाएपछि मात्रै धनगढीको मागलाई धान्न सकिन्छ ।’

प्रादेशिक कार्यालय र वितरण केन्द्रले पुरानो लाइनको तार, कन्डक्टरलगायत सामाग्रीहरु फेर्नुपर्ने भएको भन्दै हरेक आर्थिक वर्षमा बजेट माग गर्ने गरेको छ । तर बजेट नपरेको चन्दले बताए । ‘पुरानोलाईन पुनः निर्माण गर्नुपर्छ भनेर हामीले हरेक आर्थिक वर्षमा बजेट माग गरेर पठाउँछौं,’ उनले भने, ‘तर, बजेट आउँदैन । बजेट व्यवस्थापन गरी तुरुन्तै तार, कन्डक्टर फेर्नपर्छ ।’

प्रसारण लाइनको छेउछाउमा बनेका घरले गर्दा अत्तरिया–धनगढी प्रशारण लाइनको क्षमता विस्तार खर्चिलो पनि हुने देखिएको छ । निर्देशक चन्दले यो प्रसारण लाइन अपग्रेड गर्नका लागि केन्द्रसंग २-३ वर्ष योजना माग गरे पनि बजेट विनियोजन नभएको बताए । 

अत्तरिया–धनगढी १३२ केभी प्रसारण लाइन अध्ययनमा सीमित
नेपाल विद्युत प्राधिकरणले १३२ केभी क्षमताको अत्तरिया–धनगढी प्रसारण लाइन र धनगढीमा १३२ केभी क्षमताकै सबस्टेशन निर्माण गर्न आयोजना कार्यालय स्थापना गरेको थियो । आयोजना कार्यालयले धनगढी वितरण केन्द्रमै कार्यालय स्थापना गरी अध्ययन पनि गरेको थियो ।

तर, पछिल्लो समयमा सो आयोजना नै हराएको छ । ०८० मा आयोजना कार्यालयले १३२ केभी प्रसारण लाइन बनाउनका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गरेको थियो । त्यसपछि सो सम्बन्धी कुनै पनि गतिविधि भएको छैन ।

‘अत्तरिया–धनगढी १३३ केभी प्रसारण लाइन आयोजना कता हरायो हरायो ?,’ निर्देशक चन्दले प्रश्न गर्दै अनभिज्ञता व्यक्त गरे, ‘यही आयोजना बन्छ भनेर पनि ३३ केभी प्रसारण लाइन अपग्रेड गर्ने योजना स्विकृत नभएको पनि हुन सक्छ ।’

बस्तीले गर्दा नयाँ प्रसारण लाइन बनाउन कठिन भए पनि छ लेन सडकको छेउबाट र अन्डरग्राउण्ड प्रविधिबाट समेत अत्तरिया–धनगढी प्रसारण लाइन बनाउन सकिने सम्भावना बाँकी रहेको निर्देशक चन्दले बताए ।

प्रतिक्रिया