धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको वार्षिक विकास कार्यक्रम पुस्तिका सार्वजनिक भएको छ । सरकारले आइतबार ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजारको बजेट सार्वजनिक गरेको थियो । कुल बजेटमध्ये चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार (५९.२५ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।
सरकारले पूर्वाधारलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी १५ अर्ब ४० करोड ३० लाख बजेट पाएको छ । शनिबार मध्यराती बजेटलाई अन्तिम रुप दिने क्रममा भौतिक मन्त्रालयको बजेट सिलिङ बढाउने विषयलाई लिएर विभागीय सुरेन्द्रबहादुर पाल र मुख्यमन्त्री कमलबहादुर शाहबीच विवाद भएको बुझिएको थियो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई तीन अर्ब ३० करोड १० लाख, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई दुई अर्ब ३४ करोड ४८ लाख, आन्तरिक मामिला मन्त्रालयलाई ३६ करोड चार लाख बजेट र सामाजिक विकास मन्त्रालयका लागि सात अर्ब सात करोड चार लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रतिक्रिया