ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका चार युवतीसहित आठ जना पक्राउ, ठगी धन्दा चलाएको आरोप

बुधबार ०७, साउन २०८२ ११:३३

धनगढी । ठगी धन्दा चलाएको आरोपमा प्रहरीले सञ्चालकसहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले रोजगारी मिलाइ दिन्छु भनेर ठगी गरेको आरोपमा ८ व्यक्तिलाई प्रकाउ गरिएको जानकारी दिए ।

डीएसपी मोहनजंग बुढथापाका अनुसार पक्राउ पर्नेहरुमा सञ्चालक डोटीको सायल गाउँपालिका–२ का २६ वर्षीय नरेश बोहोरा, दार्चुलाको महाकाली गाउँपालिका–४ का २४ वर्षीय कृष्ण धामी, अछामको कमलबजार नगरपालिका–६ का २४ वर्षीय कमल शाही, २२ वर्षीय वीरेन्द्र शाही र कञ्चनपुरका २२ वर्षीया मनिषा सिंह छन्।

यस्तै, कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–१ का २१ वर्षीया निर्मला धामी, बैतडीको सिगास गाउँपालिका–६ का २२ वर्षीया सुनिता साउद र डोटीको बडीकेदार गाउँपालिका–४ का २२ वर्षीया कमला चिमला पनि पक्राउ परेका छन् । 

उनीहरूले वीरेन्द्रनगरमा खोलेको स्काई ड्रिम अन्टरपेनर्स प्रालिमा व्यवस्थापक एवम् कर्मचारीको पहिचानमा ठगी धन्दा गरिरहेको प्रहरीले जनाएको छ । उनीहरूले ग्लोबल ओरियन्स नेपाल प्रालिमा सीप सिकाएर रोजगारी लगाईदिने भन्दै एक जना व्यक्तिबाट २० हजार रुपैयाँ असुली गरेका थिए ।

रकम असुली गरी आफूसँग लिएका युवायुवतीहरूलाई आफूमातहत सदस्य बनाएर ५० हजार देखि २ लाख ६० हजार रुपैयाँसम्म उठाउन लगाएको प्रहरीको दाबी छ । यसरी उनीहरूले एक करोडसम्मको ठगी गरेको प्रहरीले जनाएको छ ।

स्काई ड्रिम अन्टरपेनर्सविरुद्ध ठगी गरेको जाहेरी परेपछि प्रहरीले निगरानी बढाएको थियो ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले एकसाता अघि नै उक्त कार्यालयमा छापा हानेको थियो । 
 

प्रतिक्रिया