धनगढी । कैलालीमा रहेको नेपाल–भारत सीमा नाका त्रिनगर–गौरीफन्टा आज बिहान तनावग्रस्त बन्यो । केही समय नाकामा आवागमन नै बन्द भयो । स्थानीयका अनुसार भारतीय सीमा सुरक्षा बल एसएसबीले हातपात गरेको भन्दै नेपालीहरु विरोधमा उत्रिएपछि गौरीफन्टा नाकामा केही समय तनाव भएको हो ।
एसएसबीले नेपालीमाथि कुटपिट भएको भन्दै आज बिहान थुप्रै नेपालीहरु नाकामा जम्मा भएका थिए । यता सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म त्रिनगरले पनि नेपालीहरुले आफूहरुमाथि कुटपिट भएको गुनासो गरेको जनाएको छ । तर, कुटिएका व्यक्ति भने सम्पर्कमा नआएको गुल्मले जनाएको छ । स्थानीय बासिन्दाले भने एक महिला र एक युवकमाथि कुटपिट भएको बताएका छन् ।
यता कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आवागमनमा कडाइ भएपछि सामान्य विवाद भएको बताए । ‘कागजात देखाउँदा पनि भारत जान समस्या भइरहेको छ भन्ने गुनासो थियो,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘अहिले गुनासो गर्ने नेपालीहरु, सशस्त्र प्रहरी र एसएसबीबीच छलफल भएर समस्या समाधान भइसकेको छ ।’
नेपालमा एको जेन–जी आन्दोलनपछि भारतीय अधिकारीले भारत प्रवेश गर्ने नेपालीमाथि चेकजाँचमा कडाइ गर्दै आएका छन् । नेपालीहरुसंग सक्कली परिचयपत्र भएपछि मात्रै भारत प्रवेश गर्ने अनुमति पाउने गरेका छन् ।
प्रतिक्रिया