ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली भन्सारको राजस्व संकलन चार वर्षपछि लयमा फर्कँदै

बिहिबार ०८, साउन २०८२ ०३:४३

धनगढी । कैलाली भन्सार कार्यालयको राजस्व असुल चार वर्षपछि लयमा फर्किन थालेको छ । त्रिनगर भन्सार नाकाबाट आयात र निर्यात हुने मालवस्तु आयात बढेसंगै उक्त कार्यालयबाट संकलन हुने भन्सार राजस्व बढ्न थालेको हो । २०७८÷७९ बाट भन्सार राजस्व असुली निरन्तर ओरालो लाग्दै गएकोमा २०८१÷८२ बाट बढ्न थालेको छ । 

गतआर्थिक वर्षमा आर्थिक वर्ष २०८०÷८१ को भन्दा ७५ करोड १७ लाख ३२ हजार रुपैयाँले बढी भन्सार राजस्व संकलन भएको छ । जिल्ला भन्सार कार्यालय कैलालीको तथ्यांकअनुसार गतवर्ष आठ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा सात अर्ब ९१ करोड ८० लाख ६८ हजार रुपैयाँ संकलन भएको थियो । आर्थिक वर्ष २०७९÷८० आठ अर्ब २९ करोड ६३ लाख एक हजार रुपैयाँ असुल भएको थियो । 

गतवर्ष ११ अर्ब १६ करोड २६ लाख ३० हजार संकलन गर्ने लक्ष्य पाएको कैलाली भन्सार कार्यालयले ७७.६७ प्रतिशत संकलन गरेको छ । २०८०÷८१ मा ११ अर्ब ५६ करोड २४ लाख ७० हजार संकलन गर्ने लक्ष्य राखिएकोमा ६८.३६ प्रतिशत तथा २०७९÷८० को तुलनामा ३७ करोड ८२ लाख ३३ हजार कम संकलन भएपछि राजस्व संकलनको लक्ष्य पनि घटाइएको थियो । २०७९÷८० मा १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको यिथो ।

यसैगरी, आर्थिक वर्ष २०७८÷७९ मा ११ अर्ब ७२ करोड ३९ लाख १७ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा नौ अर्ब ५८ करोड २६ लाख ५० हजार रुपैयाँ भन्सार राजस्व असुल भएको थियो । आर्थिक वर्ष ०७८÷७९ भन्दा ०७९÷८० मा एक अर्ब २८ करोड ६३ लाख ४९ हजार रुपैयाँ कम राजश्व संकलन भएको थियो ।

गतआर्थिक वर्ष जस्तै चालुआर्थिक वर्ष २०८२÷८३ मा समेत आर्थिक गतिविधि बढ्दै गएकामा यसवर्ष २०७८÷७९ कै तुलनामा राजश्व संकलन हुने अनुमान गरिएको छ । गतआर्थिक वर्षमा राजस्व संकलन बढेपनि लक्ष्य पुरा नभएकोले भन्सार विभागले कैलाली भन्सार कार्यालयलाई घटाएर नौ अर्ब ७१ करोड १५ लाख छ हजार रुपैयाँको लक्ष्य दिएको छ । 

आर्थिक वर्ष २०७७÷७८ मा लक्ष्य भन्दा आठ प्रतिशत बढि राजस्व संकलन गर्न सफल भएको थियो । तथ्यांक अनुसार आर्थिक वर्ष २०७७÷७८ मा आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ लक्ष्य निर्धारण गरिएकोमा आठ अर्ब ८४ करोड १४ लाख २८ हजार रुपैयाँ संकलन भएको छ । 

उक्त वर्षपछि कैलाली भन्सार कार्यालयको राजस्व असुली निरन्तर ओरालो लागेको थियो । गतआर्थिक वर्ष २०८१÷८२ मा भन्सार राजश्व संकलन बढेको भएपनि २०७८÷७९ को तुलनामा ९१ करोड २८ लाख ५० रुपैयाँ कम नै संकलन भएको छ । यद्दपि, चालुआर्थिक वर्षको लक्ष्य पनि ०७८÷७९ को असुलीको तुलनामा १२ करोड ८८ लाख ५६ हजार रुपैयाँ बढी संकलन गर्ने लक्ष्य लिइएको छ ।

कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत तेज रावलले आयात बढेको हुँदा राजस्व संकलन समेत बढेको बताए । अघिल्ला आर्थिक वर्षको भन्दा बढि नै मालबस्तुहरु आयात भएको बताउँदै उनले चोरी पैठारी नियन्त्रणमा कडाई गरिएको पनि भन्सारबाट आयात बढेको बताए । यसअघि आर्थिक संकुचनसंगै बजारमा सामानको माग कम हुँदै गएकोले आयात घटेको थियो । 
 

प्रतिक्रिया