ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा बनेनन् हुलाकी राजमार्गका दुई पुल

शुक्रबार ०९, साउन २०८२ ०६:५३

धनगढी । कैलालीको धनगढीमा हुलाकी राजमार्गअन्तर्गत दुई वटा पुल निर्माण हुन सकेका छैनन् । पुल निर्माणको ठेक्का सम्झौता भएको चार वर्ष बिते पनि काम अधुरै छ । पुल नबन्दा धनगढी भएर हुलाकी राजमार्गमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् भने स्थानीयले बर्खायाममा वारीपारीका बस्ती जान घुमाउरो बाटो प्रयोग गर्नु परिरहेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ शान्तिनगर र ८ नम्बरको धनगढी गाउँ बीचको राधेश्वारी स्वामी खोला र तथा वडा नम्बर १ को शान्तिनगर र २ को सन्तोषी टोल जोड्ने खोलामा पुल बनेको छैन । बर्खायाममा खोलामा पानीको सतह बढ्ने भएकाले वारीपारीका बस्ती जान घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

‘पारी धनगढी गाउँको विद्यालय पुग्न बालबालिकाले २–३ किलोमिटर घुमेर जानुपर्छ’ शान्तिनगरका स्थानीय धिरज श्रेष्ठले भने, ‘हामीलाई बर्खामा वारीपारी जान समस्या हुन्छ ।’ अरु समयमा खोलामा पानी हँदा साइकिल र मोटरसाइकल चलाउन सकिने भए पनि किनारदेखि सडकसम्म जोड्ने सडक नभएकाले गाडी नचल्ने गरेको उनले बताए ।

अर्का स्थानीय शंकर चौधरीले तीन÷चार वर्षअघि सुरु भएको काम अहिले पनि अलपत्र अवस्थामा रहेको बताए । पुल बनेको भए स्थानीयलाई सहज हुने उनले बताए । ‘पुल बनेको भए रोडमा गाडी चल्थे । हामीलाई पनि सहज हुन्थ्यो’ उनले भने, ‘यति साना पुल चार÷पाँच वर्षसम्म पनि बनेनन् ।’  

१९ फागुन २०७८ मा दुई वटै पुल निर्माणका लागि मालिका निर्माण सेवासँग सम्झौता भएको थियो । सुरुको सम्झौताअनुसार १९ असार २०८० मा काम सम्पन्न हुनुपर्ने हो । तर तीन पटक म्याद थप तथा निर्धारितभन्दा दोब्बर समय बिते पनि दुई वटै पुलको भौतिक प्रगति करिब ६५ प्रतिशतमात्र रहेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीले जनाएको छ । निर्माण कम्पनीको लापरबाही र पछिल्लो समय बजेट अभावका कारण पुल निर्माणको काम अलपत्रजस्तै छ ।

आयोजना कार्यालयका अनुसार वडा नम्बर १ र ८ जोड्ने पुलको तेस्रो पटक थपिएको अवधि आगामी कार्तिक मसान्त र अर्को पुल निर्माणको अवधि पुस दोस्रो साता सकिदैछ । २५÷२५ मिटर लम्बाइका यी दुई पुलको लागत क्रमशः पाँच करोड ७२ लाख र पाँच करोड ९२ लाख रुपैयाँ रहेको आयोजनाका इन्जिनियर रमेश पन्तले जानकारी दिए । 

दुवै पुलको ‘सुपर स्ट्रक्चर’को काम बाँकी रहेको उनले बताए । गत वर्ष र यस वर्ष बजेट अभावका कारण काम हुन नसकेको कार्यालयले जनाएको छ । ‘यस वर्ष हुलाकी राजमार्गका लागि आएको बजेट असोजमै सकियो । आर्थिक वर्षको अन्त्यतिर रकमान्तर भएर आउने बजेटबाट भुक्तानी दिऔँला भनेर निर्माण कम्पनीलाई केही काम गरायौँ’ उनले भने, ‘गत वर्ष पनि बजेट अभावको समस्या थियो ।’ कामअनुसारको भुक्तानी दिन नसकिएकाले निर्माण कम्पनीलाई ताकेता गर्न नसकिएको कार्यालयको भनाइ छ । 

कार्यालयले कैलाली, कञ्चनपुरमा हुलाकी राजमार्गका लागि यस वर्ष आएको साढे ३२ करोडमध्ये २० करोड रुपैयाँ गत वर्षको दायित्व भुक्तानी गरेको थियो । इन्जिनियर पन्तले यी दुई पुल निर्माणको काम आगामी वर्षभित्र पुरा हुने दावी गरे ।

कैलालीमा राजमार्गअन्तर्गत अन्य ठाउँमा भने पुल निर्माणको काम पुरा भएको छ । धनगढीमा वडा नम्बर ८, १ र २ हुँदै राजमार्गले कञ्चनपुरको पुनर्वासलाई जोड्छ । कैलालीमा राजमार्गको ६२ किलोमिटरमध्ये करिब ५० किलोमिटर स्तरोन्नतिसहित कालोपत्रे पुरा भएको छ । करिब १२ किलोमिटर राजमार्ग निर्माण तथा स्तरोन्नतिको काम बाँकी रहेको पन्तले जानकारी दिए ।  

प्रतिक्रिया