ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी–अत्तरिया छ लेन सडकका पुल चार वर्षदेखि अधुरै

मङ्गलबार १३, साउन २०८२ ०५:३०

धनगढी । बजेट अभावका कारण मोहनापुल–धनगढी–अत्तरिया छ लेन सडकमा निर्माणाधीन दुई वटा पुलको निर्माण चार वर्षदेखि अधुरै रहेको छ । सो सडकअन्तर्गत त्रिनगर भन्सार नाकामा रहेको मोहना र गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नजिकको मनहरा खोलाको पुल बजेट अभावको कारण सुस्त गतिमा निर्माण भइरहेको हो । 

२०७८ सालदेखि निर्माण सुरु भएको पुल सुरुमा निर्माण कम्पनीले ढिलो गर्दा र पछिल्लोपटक आवश्यकताभन्दा कम बजेट विनियोजन हुँदा निर्माणले गति लिन नसकेको हो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ठेक्का लगाइएकोमा दोस्रोपटक थपिएको म्यादसमेत सकिन लाग्दा न प्रयाप्त बजेट विनियोजन भएको छ न त निर्माण कम्पनीले तदारुकता देखाएका छन् ।

मोहना खोलामा पुरानो पुलसंगै बन्न लागेको पुलको भौतिक प्रगति ५० प्रतिशत भएको छ । २०७८ माघमा सम्झौता भई फागुनबाट निर्माण सुरु गरेको राइमाझी कन्ट्रक्सनलाई २०८० जेठसम्म निर्माण सम्पन्न गर्न म्याद दिइएको थियो । तर, दोस्रोपटक म्याद थप गरिए पनि फाउण्डेशन र पाइलको काम मात्रै गरेको छ । १३ करोड ३६ लाखमा सम्झौता भएको सो ठेक्कामा हालसम्म ९ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । दोस्रो पटक थपिएको म्याद २०८२ चैत २८ गतेसम्म छ ।

आयोजना कार्यालयका इञ्जियिनर सन्तोष चन्दले फाउण्डेशन र पाइल निर्माणको काम सकिएको बताए । सडकलाई ६ लेनमा विस्तार गरिएकोसंगै मोहना पुल साँघुरो र आयु सकिन लागेको हुनाले सो ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो । पुल निर्माणमा ढिलाई हुँदा भारतबाट सामान आयात गर्ने प्रदेशकै मुल नाका रहेको हुँदा ठूला मालबाहक गाडी आउँदा पुरानो पुलमा यातायात जाम हुँदै आएको छ ।

यसैगरी, मनहरा खोलाको पुल निर्माणका लागि ०७८ माघमै उच्चाकोटी–शनिदेव–साजेन्द्रलाई ८ करोड ५० लाख दुई वर्षमा काम सक्ने गरी ठेक्का दिइएको थियो । गेटामा पर्ने मनहरा खोला निर्माणका लागि दोस्रो पटक म्याद थप गरिएपनि ५५ प्रतिशत मात्रै काम भएको छ । यो पुलको पनि फाउण्डेन र पिलरको काम मात्रै भएको ईञ्जिनियर चन्दले बताए । उनले दोस्रो पटक थपिएको म्याद आगामी भदौंमा सकिएपनि बजेटको कारण चालुआर्थिक वर्षमा सम्पन्न नहुने अवस्था रहेको बताए ।
सो पुलमा काम गरेवाफत् जेभीले तीन लाख रुपैयाँ भुक्तानी लिएको छ भने २०८१÷८२ को कामको डेढ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको ईञ्जिनियर चन्दले बताए । उनले सो पुलको लागि चालुआर्थिक वर्षमा अढाई करोड रुपैयाँ विनियोजन भएको बताउँदै उनले यसवर्ष एक करोडको मात्रै काम हुने बताए । ‘मनहरा पुलको ठेक्का सम्पन्न गर्न तीन करोड रुपैयाँ बजेट अपुग छ,’ उनले भने, ‘ठेकदारले आगामी आर्थिक वर्षमा भुक्तानी पाउने शर्तमा काम गर्न सहमत भएमात्रै यसवर्ष मनहराको पुल सञ्चालन हुन्छ ।’

यसैगरी, मोहना पुलको लागि चालुआर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । बजेट भए यसैआर्थिक वर्षमा निर्माण सम्पन्न गर्न सकिने काम मात्रै बाँकी रहेको ईञ्जिनियर चन्दले बताए । ‘दुबै पुलमा माथि स्ल्याब हाल्ने काम मात्रै बाँकी छ,’ उनले भने, ‘बजेट व्यवस्थापन हुन सके यसैआर्थिक वर्षमा पुल सञ्चालन गर्न सकिन्छ ।

सडक कालो पत्रे गरी अत्तरिया–धनगढी मोहनापुल छ लेन सडक आयोजना कार्यालय खारेज भएको चार वर्ष पुगेको छ । कार्यालय खारेज हुँदा नै पुल निर्माणको ठेक्का लगाइएको भएपनि पुल निर्माण सम्पन्न भएको छैन ।

पाँच वर्षमा बन्यो सुनी खोला पुल
छ लेन सडकमै पर्ने गेटास्थित सहिद दशरच चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको दक्षिणतिरको सुनी खोलाको पुल पाँच वर्ष लगाएर बनाइएको छ । आयोजना कार्यालयका अनुसार गत असार मसान्तबाट सो पुल सञ्चालनमा आएको छ । २०७७ कात्तिकमा सो खोलाको पुलको ठेक्का राजेन्द्र निर्माण सेवाले तीन वर्षसम्म योजना अलपत्र छोडेपछि पुल सञ्चालन हुन पाँच वर्ष लागेको थियो । 

तर, आयोजना कार्यालयले कारबाही लैजाने प्रक्रिया थालेपछि राजेन्द्र निर्माण सेवाले काम गरेको थियो । ३ करोड ५० लाखमा सम्झौता भएकोमा निर्माण सम्पन्न भएको सो पुलको १० लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको ईञ्जिनियर चन्दले बताए । 

पुल निर्माण भएपछि नयाँ पुललाई धनगढी–अत्तरिया र पुरानो पुललाई अत्तरिया–धनगढी रुटको लागि एकतर्फी प्रयोग गर्न थालिएको छ । तर मनहरा पुल नबन्दा सो पुलमा ६ लेन सडकलाई साँघुरो पुलले जोडिएको छ । जसले गर्दा तिब्रगतिमा आएका गाडीहरु एक्कासी साँघुरो सडकमा पुगेपछि दुर्घटनाको जोखीम छ । 
 

प्रतिक्रिया