धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालयहरु मन्त्रीका परिवारका सदस्य र आफन्तलाई जागिर दिने भर्तीकेन्द्र बनेका छन् । अधिकांश मन्त्रीले आफ्नो सचिवालयमा छोराछोरी, भाइभतिजा र आफन्तलाई कर्मचारीका रुपमा नियुक्त गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा मुख्यमन्त्रीले आफ्नो सचिवालयमा कार्यालय सहयोगीसमेत गरी १० जना, मन्त्रीले पाँच जना र राज्यमन्त्रीले तीन जना कर्मचारी नियुक्त गर्न पाउने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार स्वकीय सचिवसँगै सवारी चालक, कार्यालय सहयोगी र भान्सेमा समेत मन्त्रीका परिवारका सदस्य र आफन्तले नियुक्ति पाएका हुन् । यसरी नियुक्ति पाएकाहरुले प्रदेश सरकारबाट तलबसुविधा बुझ्ने गरेका छन् । मन्त्रीका सचिवालयमा रहेका कतिपयले शक्तिको आडमा मन्त्रालयको स्रोतसाधनमा अनधिकृत हस्तक्षपसमेत गर्छन् ।
मन्त्री सार्कीको सचिवालयमा छोरा र भतिजा
आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले आफ्नो सचिवालयमा पाँचमध्ये चार जना आफ्नै परिवारका सदस्यलाई नियुक्ति दिएका छन् । उनले कान्छा छोरा जनकलाई स्वकीय सचिव, माइला छोरा सुर्यलाई सवारी चालक, भतिजा मदनलाई भान्से र ज्वाइ गणेश सार्कीलाई कार्यालय सहयोगीमा भर्ना गरेका छन् ।
मन्त्रालय स्रोतका अनुसार गणेशले घरमै बसेर तलब बुझ्दै आएका छन, उनी मन्त्रालय जाँदैनन् । मन्त्री सार्कीले व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) पनि आफन्त नै रोजेका छन् । नेपाल प्रहरीमा रहेका भतिजा देवसिंह उनका पिएसओ छन् ।
गत मंगलबार लम्कीमा दुर्घटना भएको मन्त्री सार्की सवार गाडी उनका छोरा सुर्यले चलाएका थिए । प्रहरीका अनुसार उक्त दुर्घटनामा चालकको गम्भीर लापरवाही र अक्षमता देखिएको थियो । सुविधायुक्त गाडी चलाएको अनुभव नभएका सुर्य विगतमा ट्याक्टर चलाउँथे ।
मन्त्री सार्की भन्छन्, ‘बाहिरका मान्छे पनि खोजेको हुँ, तर पाइएन । आफ्नै परिवारका सदस्य सचिवालयमा हुुँदा काम गर्न सहज हुन्छ ।’ एमाले समानुपातिक सांसद रहेका सार्की नौ सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा दलित समुदायबाट प्रतिनिधित्व गर्ने एक्ला मन्त्री हुन् ।
भौतिक मन्त्रालयमा ज्वाइ र छोरी
भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालले आफ्नो स्वकीय सचिवमा ज्वाइ बिवेक चन्दलाई राखेका छन् । मन्त्री पालको सचिवालयका अर्का सदस्य रमेशबहादुर बोहरा छन् । त्यस्तै सवारी चालकमा नवराज भट्ट तथा कार्यालयमा अम्बादत्त कपाडी र बिष्णुदत्त अवस्थीलाई राखेका छन् ।
भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँदले छोरी सरस्वतीलाई स्वकीय सचिव नियुक्त गरेकी छिन् । पाल र साउँद दुवै एमालेबाट मन्त्री बनेका हुन् ।
कृषिमन्त्रीको स्वकीयमा सहोदर भाई
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीरबहादुर थापाले आफ्नै भाइ रमेशलाई स्वकीय सचिवको नियुक्ति दिएका छन् । थापा पनि एमालेबाटै मन्त्री बनेका हुन् ।
सामाजिकमा भतिजालाई नियुक्ति
सामाजिक विकासमन्त्री मेघराज खड्काले आफ्नो सचिवालयको टीममा भतिजालाई नियुक्त गरेका छन् ।
उनले आफ्ना भतिजा हेमन्त खड्कालाई स्वकीय सचिव राखेका छन् । मन्त्री खड्का नेपाली काँग्रेसका सुदूरपश्चिमका महामन्त्री हुन् ।
अर्थमा पनि परिवारकै सदस्य
आर्थिक मामिलामन्त्री र राज्यमन्त्रीको सचिवालयमा पनि परिवारकै सदस्यले नियुक्ति पाएका छन् । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आफ्नो स्वकीय सचिव भतिजा सुनिललाई राखेका छन् ।
त्यस्तै आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले पनि भतिजा धनबहादुरलाई आफ्नो स्वकीय सचिवको नियुक्ति दिएका छन् । थापा र बम काँग्रेसबाट मन्त्री बनेका हुन् ।
मुख्यमन्त्रीले बढाए सचिवालय टीम
सचिवालय सदस्य संख्या बढाएका मुख्यमन्त्री कमलबहादुर शाहले पनि सचिवालयमा आफन्त राखेका छन् । उनले भाइ नाता पर्ने नरेन्द्र बमलाई कार्यालय सहयोगीको नियुक्ति दिएका छन् ।
दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएपछि शाहले आफ्नो सचिवालय सदस्य संख्यासमेत बढाएका छन् । मन्त्रिपरिषद्बाट निर्णय गराएर सचिवालय सदस्य संख्या सात जनाबाट बढाएर १२ पु¥याएका छन् । त्यसमध्ये दुई जना सल्लाहकार हुन् ।
मुख्यमन्त्री शाहको स्वकीय सचिवमा प्रयागराज खनाल र रामबहादुर बिष्ट, सूचना प्रविधि अधिकृतमा मेनुका स्वाँर धामी, प्रशासन सहायकमा देवानन्द जैशी र चन्द्र बिक, सम्पर्क व्यक्तिमा सुरेश तिमिल्सैना, कार्यालय सहयोगीमा रामला चौधरी र नरेन्द्र बम, सवारी चालकमा जयराम चौधरी र बिक्रम चौधरी रहेका छन् ।
त्यस्तै राजनीतिक सल्लाहकारमा डा. जितेन्द्र उपाध्याय र प्रेस तथा जनसम्पर्क सल्लाहकारमा डम्मरबहादुर बमलाई मुख्यमन्त्री शाहले नियुक्ति दिएका छन् । मुख्यमन्त्री शाहको थप दुई सदस्यीय निजी सचिवालय पनि रहेको छ ।
प्रतिक्रिया