धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार हुँदै गएको जनाइएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पार्टी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले देउवाको स्वास्थ्यबारे जानकारी गराएका हुन् ।
सभापति देउवाको उपचार अहिले पनि भइरहेको उनले बताए । ‘सभापतिज्यूले दिनुभएको जानकारी अनुसार, गर्धनमा गम्भीर चोट लागेको छ । त्यहाँ १२ वटा टाँका लगाइएको छ,’ विश्वकर्माले भने, ‘त्यो भन्दा तल सामान्य चोट छ । त्यो टाँका लागेको ठाउँ र चोट निको हुँदै गएको अवस्था छ ।’
देउवा अहिले सामान्य बोलचाल र हिँडडुल गर्नसक्ने अवस्थामा छन् । चिकित्सकले केही दिन अझै अस्पतालमा राख्नुपर्ने बताएको पनि उनले जानकारी गराए ।
चिकित्सकले धारिलो हतियारबाट घाउ लागेको बताए पनि के हतियार भन्ने चाहिँ नखुलेको उनले बताए । गत २४ भदौमा जेनजीहरूले गरेको प्रदर्शनका क्रममा बुढानीलकण्ठस्थित निवासमै उनीमाथि कुटपिट भएको थियो ।
प्रतिक्रिया