ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बझाङ एमालेको अध्यक्षमा भण्डारी निर्वाचित

आइतबार ३०, मङि्सर २०८१ ०४:४५

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी, बझाङको अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले दिलबहादुर भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्वसमेत चयन गरेको छ । 

पार्टीभित्रको आन्तरिक विवादका कारण नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा सहमति नजुटेपछि २०७८ सालदेखि एमालेको अधिवेशनको मिति तोक्ने र अधिवेशन स्थगित गर्ने लामो शृंखला नै चलेको थियो । २०८० माघ र फागुनमा मात्रै दुई पटक मिति तोकेर अधिवेशन स्थगित गरिएको थियो । यसअघि २०७८ र २०७९ सालमा पनि अघिवेशनको मिति तोकेर बीचमै स्थगित भएको थियो ।


यसपटक मंसिर २४ गतेबाट सुरु भएको अधिवेशनमा सहमतिमा नेतृत्व चयन हुन नसकेपछि नेताहरूले निर्वाचनको प्रक्रियाबाट अधिवेशन सम्पन्न गर्ने सहमति गरेका थिए । मंसिर २८ गते विभिन्न पदका लागि भएको निर्वाचनको नतिजा आइतबार सार्वजनिक गरिएको हो ।

एमालेको निर्वाचन कमिटीले सार्वजनिक गरेको नतिजाअनुसार भण्डारीले अध्यक्ष पदका प्रतिस्पधी कलकबहादुर खड्कालाई ५५ मतले पछि पार्दै जित हात पारेका छन । भण्डारीले २०८ मत प्राप्त गर्दा खड्काले १५३ मत पाएको निर्वाचन कमिटीले जनाएको छ । अध्यक्ष पदमा निर्वाचित भण्डारी एमाले बझाङका पुराना नेतामध्ये एक हुन् भने खड्का माओवादी र एमाले मिलेर नेकपा बनेपछि माओवादीबाट एमालेमा आएका थिए । उनी एमाले बझाङका निर्वतमान अध्यक्षसमेत हुन् ।

यस्तै अधिवेशनले जिल्ला कमिटी उपाध्यक्षमा तलकोट गाउँपालिकाका पूर्वअध्यक्ष लालबहादुर विष्टलाई निर्वाचित गरेको छ । उनले दुर्गाथली गाउँपालिकाका पूर्वअध्यक्ष प्रयागराज जोशीलाई पराजित गरेका छन् । सचिवमा लोकेन्द्रबहादुर सिंहलाई पराजित गर्दै नयनबहादुर बोहरा निर्वाचित भएका छन् । उनीहरू दुवै जना विद्यार्थी राजनीतिक पृष्ठभूमिबाट आएका हुन् । त्यसैगरी खुला उपसचिवमा पञ्कज भण्डारी र महिला उपसचिवमा राधा विष्ट चयन भएका छन् ।


अधिवेशनले पदाधिकारी तथा सदस्य गरेर ७५ जनाको जिल्ला कमिटी र गजेन्द्र खत्रीको अध्यक्षतामा सात सदस्यीय लेखा आयोगको चयन गरेको नवनिर्वाचित सचिव नयन बोहराले जानकारी दिए ।

प्रतिक्रिया