धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–२ को साडेपानीमा स्थानीयले अवरुद्ध गरेको पूर्वपश्चिम राजमार्ग खुलेको छ । आइतबार बिहान तरकारी बोकेको जिपले ठक्कर दिदा बर्दगोरिया गाउँपालिका–६ का ५५ वर्षीय शंकर डगौराको मृत्यु र अन्य तीन जना घाइते भएको घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले केही समयअघि राजमार्ग सुचारु भइसकेको जानकारी दिए । पूर्वपश्चिम राजमार्गअन्तरगत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान लु २ च २३५८ नम्बरको जिपले ठक्कर दिँदा बर्दगोरिया गाउँपालिका–६ कोटातुल्सिपुरका ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको थियो ।
यस्तै दुई जना साइकल यात्री र एक जना पैदल यात्री घाइते भएका छन् । घोडाघोडी नगरपालिका–२ साडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ कोटातुल्सिपुरका ५४ वर्षीय हर्कबहादुर डगौरा र २५ वर्षीय कृष्ण डगौरा घाइते भएका हुन् । उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर जोशीले बताए ।
जिप र चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया