ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

मेयर–उपमेयरबिनाको टीकापुर नगरपालिका, कसरी तोकिन्छ कार्यवाहक ?

आइतबार २५, माघ २०८२ ०१:१२

धनगढी । कैलालीको टीकापुर नगरपालिका निर्वाचनको साढे तीन वर्षमै मेयर र उपमेयरविहीन छ । मेयर रामलाल डगौरा राजीनामा दिएर नेकपाबाट कैलाली– १ मा प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा छन् । उपमेयर खडक शाह भ्रष्टाचार मुद्दा लागेपछि यसअघि नै निलम्बनमा छन् ।

अब १७ जना कार्यपालिका सदस्यमध्ये एकजनाले कार्यवाहक प्रमुखको जिम्मेवारी पाउने छन् । तर, कार्यवाहक मेयर तोक्न कार्यपालिका बैठक बसेको छैन । स्थानीय सरकार सञ्चालन ऐनमा नगर प्रमुख र उपप्रमुख दुवै नभएको अवस्थामा कार्यपालिकाले कार्यवाहक प्रमुख तोक्ने व्यवस्था छ । नगरपालिका नेतृत्वविहीन भएपछि मेयर रहने स्थानीय स्वास्थ्य बोर्डबाट विपन्न वर्गका बिरामीलाई सहायता दिने निर्णय, घरनक्सासम्बन्धी पुनरावेदनका काम प्रभावित भएको कर्मचारी बताउँछन् ।

महत्वपूर्ण नीतिगत निर्णय गर्न, नीति तथा कार्यक्रम निर्माण गर्न, योजना कार्यान्वयन, अनुगमनजस्ता विषयमा समस्या हुने देखिएको छ । टीकापुर नगरपालिकामा १७ जना कार्यपालिका सदस्यमध्ये ११ जनासहित नेकपाको बहुमत छ । त्यसमध्ये सात नागरिक उन्मुक्तिबाट र चार पूर्वमाओवादीबाट निर्वाचित हुन् ।

कांग्रेसका पाँच र एमालेका एकजना सदस्य छन् । नौवटा वडाध्यक्षमा पूर्वमाओवादी र कांग्रेसबाट तीन–तीन, नागरिक उन्मुक्तिबाट दुई र एमालेबाट एकजना निर्वाचित भएका थिए । एक कार्यपालिका सदस्यका अनुसार वडा नम्बर ७ का अध्यक्ष यज्ञ न्यौपाने, ४ का अध्यक्ष लालवीर चौधरी र कार्यपालिकाका ज्येष्ठ सदस्य रामबहादुर नागर्जीले कार्यवाहक मेयर बन्न चाहना देखाएका छन् । न्यौपाने पूर्वमाओवादी, चौधरी पूर्वनाउपा र नागर्जी कांग्रेसबाट निर्वाचित हुन् ।

प्रतिक्रिया