धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका ८८ वटा स्थानीय तहलाई सवा सात करोड रुपैयाँ सवारीसाधन कर बाँडफाँड गरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा संकलन भएको सवारीसाधन करमध्ये सात करोड १८ लाखए एक हजार ९९५ रुपैयाँ स्थानीय तहहरुलाई बाँडफाँड गरिएको हो ।
प्रदेश सरकारले सवारी साधन करबापत उठेको रकममध्ये ६० प्रतिशत प्रदेश सञ्चित कोषमा जम्मा गरी बाँकी रहेको ४० प्रतिशत प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको सिफारिसका आधारमा स्थानीय तहहरुलाई सवारी साधन कर बाँडफाँड गर्ने गरेको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चालुआर्थिक वर्ष २०८२/८३ को साउनमा दुई करोड ५८ लाख ७३ हजार ५९८ रुपैयाँ, भदौमा एक करोड ८३ लाख १९ हजार ६९ रुपैयाँ र असोजमा दुई करोड ७६ लाख नौ हजार १२८ रुपैयाँ सवारीसाधन करबापत ८८ वटै स्थानीय तहलाई बाँडफाँड गरिएको छ ।
प्रदेश सरकार मातहतको यातायात व्यवस्था कार्यालय र यातायात सेवा कार्यालयहरुले सवारीसाधन कर संकलन गरी प्रदेश विभाज्य कोषमा जम्मा गर्ने गरेका छन् । सो कोषमा जम्मा भएको रकममध्ये प्रदेशको आर्थिक मामिला मन्त्रालयले ६० प्रतिशत रकम प्रदेश सञ्चित कोषमा र ४० प्रतिशत रकम प्रदेशमा रहेका स्थानीय तहहरुलाई मासिक रुपमा बाँडफाँड गर्ने गरेको छ ।
प्रदेशमा सबैभन्दा बढी सवारीसाधन करको हिस्सा पाउने स्थानीय तह धनगढी उपमहानगरपालिका हो । प्रदेश राजधानी समेत रहेको धानगढीमा सबैभन्दा बढी सवारीसाधनको चाप रहेको र सडक सञ्जाल समेत धेरै रहेकोले सवारीसधान करको सबैभन्दा धेरै हिस्सा धनगढीले पाउने गरेको छ । धनगढीले असोजमा १४ लाख ८१ हजार १५३ रुपैयाँ, भदौमा नौ लाख ८२ हजार ७६७ र साउनमा १३ लाख ८८ हजार ५७ रुपैयाँ सवारीसाधन कर बाँडफाँडबाट प्राप्त गरेको छ ।
सवारी साधन करको दोस्रो ठुलो हिस्सा लम्कीचुहा नगरपालिका र तेस्रो ठुलो हिस्सा गौरीगंगा नगरपालिकाले पाउने गरेको छ । लम्कीचुहाले असोजमा १२ लाख ५७ हजार नौ सय, भदौमा आठ लाख ३४ हजार ६३५ र साउनमा ११ लाख ७८ हजार ८३६ रुपैयाँ प्राप्त गरेको छ भने गौरीगंगाले ति महिनाहरुमा क्रमशः आठ लाख पाँच हजार ११३, पाँच लाख ३४ हजार २०५ र सात लाख ५४ हजार ५०९ रुपैयाँ प्राप्त गरेको छ ।
यसैगरी, सवारीसाधन कर बाँडफाँडबापत चौथो ठूलो हिस्सा पाउनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका र पाँचौं ठुलो हिस्सा पाउनेमा कैलालीको गोदावरी नगरपालिका छ । साउनदेखि असोजसम्म भीमदत्तले क्रमशः सात लाख १४ हजार ९५७, पाँच लाख छ हजार २०१, सात लाख ६२ हजार ९०९ रुपैयाँ पाएको थियो भने गोदावरीले पाँच लाख ९३ हजार ८४९, चार लाख २० हजार ४५४ र छ लाख ३३ हजार ६७८ रुपैयाँ प्राप्त गरेको छ ।
प्रदेशमा सवारी साधन कर बाँडफाँडको सबैभन्दा कम हिस्सा पाउनेमा बझाङको दुर्गाथली गाउँपालिका छ । दुर्गाथलीले साउनमा ७२ हजार ६९३, भदौमा ५१ हजार ४६८ र असोजमा ७७ हजार ५६९ रुपैयाँ प्राप्त गरेको छ । अन्य स्थानीय तहहरुले सवारीसाधन कर बाँडफाँडबाट लाखौं रकम पाइरहँदा एक लाखभन्दा कम हिस्सा पाउनेमा बझाङकाे मष्टा, बाजुराको स्वामीकार्तिक गाउँपालिका र दार्चुलाको लेकम गाउँपालिका पनि छन् ।
चालुआर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले सवारी साधन करमा उल्लेख्य बृद्धि गरेको छ । आर्थिक मामिला मन्त्रालयले अन्य प्रदेशसंग समान हुने गरी प्रदेशमा सवारी साधन कर हेरफेर गरेको जनाएको छ ।
प्रतिक्रिया