ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम रोयल्स : घरेलु खेलाडीको वर्चस्व, विदेशी खेलाडीको साथले च्याम्पियन बन्ने लक्ष्य

सोमबार ०१, मङि्सर २०८२ ११:२३

धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन आजदेखि सुरु हुँदै छ । दोस्रो सिजनको पहिलो खेल नै नेपाली क्रिकेट इतिहासमा पहिलोपटक फ्लडलाइटमूनी हुँदै छ । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिड्दै छन् । 

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने टोली छ । सुदूरपश्चिम रोयल्सले पहिलो सिजन उत्कृष्ट प्रदर्शन गरेको थियो । लिग चरणमा सातमध्ये छ खेल जितेर शीर्ष स्थानमा रहेको सुदूरपश्चिम फाइनल पुगेको थियो । तर, निर्णायक खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएपछि पहिलो सिजन उपविजेता बन्यो ।

यस टिममा पहिलो सिजन देखि नै सुदूरपश्चिम घर भएकै खेलाडीहरू धेरै थिए । कप्तान तथा मार्की दीपेन्द्रसिंह ऐरी नै सुदूरपश्चिम प्रदेशका हुन् । दोस्रो सिजनका लागि रिटेन गरिएका दीपेन्द्रसँगै विनोद भण्डारी र नरेन साउद यही क्षेत्रका हुन् । यस्तै दोस्रो सिजनका लागि सुदूरपश्चिमले अक्सनबाट आफ्नै क्षेत्रका खेलाडीहरू अनुबन्ध गरेकाे छ । जसमा मिडियम पेसर हेमन्त धामी देखि दीपक बोहरा, मिलन बोहरा, टेक रावत र दीपेन्द्र थापा छन् ।

सुदूरपश्चिमको टिममा यसपटक विदेशी खेलाडीलाई छाड्ने हो लगभग सबै खेलाडी आफ्नै प्रदेशबाट छन् । आरिफ शेख (मधेश प्रदेश), इशान पाण्डे (बागमती प्रदेश) र अविनाश बोहरा (कर्णाली प्रदेश) गरी तीन खेलाडी मात्र अन्य प्रदेशका हुन् । यस्तै स्थानिय ट्यालेन्ट हन्टबाट सुदूरपश्चिमले मिडियम पेसर हिक्मत महरालाई टोलीमा समावेश गरेको छ । महरा पनि सुदूरपश्चिमकै हुन् ।

यस्तै विदेशी खेलाडीमा स्कट कुगेलेइन र हर्मित सिंहलाई दोस्रो सिजन पनि निरन्तरता दिएको सुदूरपश्चिमले अस्ट्रेलियन ब्याटर क्रिस लिन र जोस ब्राउन जस्ता खेलाडी दोस्रो सिजनका लागि अनुबन्ध गरेको छ । क्रिस लिनको आगमनपछि उनले ओपनिङ गर्नेछन् । उनलाई टप अर्डरमा विनोद भण्डारी, इशान पाण्डेले साथ दिन सक्छन् ।

यस्तै मिडल अर्डरमा कप्तान दीपेन्द्र सिंह ऐरीसँगै आरिफ शेख, जोस ब्राउन अनुभवी खेलाडी छन् । दीपक बोहरा, मिलन बोहराको मिडल अर्डरमा विकल्पको रुपमा छन् ।

त्यसपछि पेस बलिङमा पहिलो सिजनका सर्वाधिक विकेटकर्ता स्कट कुगेलेइनसँगै अबिनाश बोहरा र हेमन्त धामी छन् । ट्यालेन्ट हन्टबाट आएका हिक्मत महरा पनि विकल्पमा छन् ।

स्पीनमा पनि नेपाली र विदेशी खेलाडीको साथ छ । अमेरिकी खेलाडी हर्मित सिंह र नरेन साउद मुख्य स्पीनरको रुपमा छन् । उनीहरूलाई कप्तान दीपेन्द्रले साथ दिनेछन् । सुदूरपश्चिम नेपाली घरेलु क्रिकेटका सफल प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा लगातार दोस्रो सिजन खेल्दैछ । मुख्य प्रशिक्षक टमाटाले च्याम्पियन बन्ने लक्ष्यका साथ सुदूरपश्चिम रोयल्सले सन्तुलित टिम बनाएको बताएका छन् । 

प्रतिक्रिया