ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गृहजिल्लाका नेताहरुको अनुरोधपछि देउवाले भने– अन्तिमपटक चुनाव लड्छु

मङ्गलबार २३, मङि्सर २०८२ ०१:५४

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तिमपटक चुनाव लड्ने बताएका छन् । नेता–कार्यकर्तालाई भेटघाटका क्रममा सभापति देउवाले निर्धारित समयमै निर्वाचन भए अन्तिमपटक लड्न आफू तयार रहेको बताएका हुन् ।

मंगलबार देउवालाई भेट्न पुगेका थिए, नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद । उनीसंगै थिए, देउवाको गृहपालिका गन्यापधुराका अध्यक्ष इन्द्रबहादुर कार्की, उपाध्यक्ष ज्ञानु सेठी देउवा, परशुराम नगरपालिका मेयर भरत बडायर जोशी लगायतका नेताहरु । ‘डडेल्धुराका जनताले उहाँको सम्मानजनक बिदाइ खोजेका छन्,’ सभापति साउँदले भने, ‘डडेल्धुराका जनताकै इच्छाअनुसार सोही कारण भेटघाटका क्रममा हामीहरुले डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन लड्नका लागि उहाँ समक्ष अनुरोध गरेका थियो । जनताको इच्छा भए अन्तिमपटक डडेल्धुराबाट चुनाव लड्छु भन्नुभएको छ ।’ 

भेटघाटका क्रममा जिल्ला सभापति साउँद, देउवाका गृहपालिकाका अध्यक्ष कार्की र उपाध्यक्ष सेठीले देउवालाई फागुन २१ गतेको निर्वाचन लड्न अनुरोध गरेका थिए । ‘डडेल्धुराका जनताले उहाँलाई ७–७ पटक जिताएका छन्,’ सभापति साउँदले भने, ‘उहाँमाथिको आक्रमण उहाँलाई जिताउने डडेल्धुराका जनतामाथिको आक्रमणका रुपमा हेरिएको छ । त्यसैले एकपटक फेरि जिताएर पठाउनका लागि डडेल्धुराका जनता तयार छन् ।’ जिल्ला सभापति साउँदले आजै काठमाडौंबाट फर्किएर केन्द्रीय निर्देशनअनुसार तोकिएकै मितिमा देउवाको नाम एकल रुपमा सिफारिस गर्ने तयारी रहेको बताए । 

देउवाले डडेल्धुराका युवा नेताहरुसंग पनि भेटघाट बढाएका छन् । ‘हामीहरुसंग पनि उहाँले अन्तिमपटक चुनाव लड्छु भन्नुभएको छ,’ डडेल्धुराकै एक युवा नेताले भने, ‘पार्टी र निर्वाचनमा युवाहरुको सहभागिता पनि बढ्नुपर्छ भन्ने उहाँको धारणा छ ।’

देउवा डडेल्धुराबाट सात पटक संघीय निर्वाचनमा विजयी भइसकेका छन् । २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा देउवा विजयी भएका थिए । 

प्रतिक्रिया