बाक्लो हुस्सु र शीतलहरले पश्चिम तराईमा चिसो बढेको छ । कैलाली, कञ्चनपुरमा दिनभर नै शीतलहरसहितको हुस्सु लाग्न थालेपछि चिसो बढेको हो, जसका कारण जनजीवन प्रभावित भएको छ ।
‘मंसिर महिनासम्म त घाम लाग्ने गरेको थियो,’ धनगढीका रोशन जोशीले भने, ‘१ पुसदेखि बाक्लो हुस्सु लाग्न थालेपछि चिसो ह्वात्तै बढेको छ ।’
चिसोका कारण केही दिनदेखि सडकमा आवागमन पनि घट्न थालेको छ । चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा शिविरमा बसोबास गर्ने विपन्न परिवार बढी प्रभावित हुन थालेका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला केही दिनदेखि धनगढी र आसपासका क्षेत्रको तापक्रम पनि निकै घटेको छ । न्यूनतम तापक्रम झरेर १० देखि १२ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया