धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य नाका त्रिनगरबाट चालु आर्थिक वर्षको पाँच महिनामा छ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । निर्यातभन्दा आयात झण्डै १५ गुणा बढी भएपछि व्यापार घाटा छ अर्बभन्दा बढी भएको हो ।
जिल्ला भन्सार कार्यालय कैलालीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि भदौसम्म छ अर्ब ३८ करोड ५२ लाख ८२ हजार रुपैयाँ व्यापार घाटा भएको हो । यो अवधिमा छ अर्ब ८४ करोड ९० लाख ७९ हजार रुपैयाँको आयात हुँदा ४६ करोड ३७ लाख ८७ हजार रुपैयाँको मात्रै निर्यात भएको छ ।
त्रिनगर नाकाबाट सबैभन्दा बढी पेट्रोलिय पदार्थ आयात हुने गरेको छ भने पेपर, बिटुमिन, दालमोठ, टेक्टाइल, फुड सप्लिमेन्ट, चामल, आलु, गाडीमा सामान, पास्ता लगायतका सामाग्री सबैभन्दा बढी आयात हुने गरेको छ । यो पाँच महिनामा दुई अर्ब ८० करोड २४ लाख २५ हजारको डिजल र एक अर्ब १४ हजार ६९ लाख आठ हजार रुपैयाँको पेट्रोल आयात भएको छ ।
यसैगरी, तरकारी, तरल कत्था, कत्था, पिना, चुन ढुंगा, खयर, टर्पेनटाइन तेल, रोजिन, प्लाईउड लगायतका नौ प्रकारका सामाग्री निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । विगतमा जस्तै निर्यात हुने सामाग्री नबढेकाले यो नाकाबाट व्यापार घाटा बढिरहेको भन्सार कैलालीका अधिकृत यज्ञराज जोशीले बताए ।
प्रतिक्रिया