ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

शनिबार १२, पुष २०८२ १२:१२

धनगढी । सुदूरपश्चिममा छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कैलालीमा दुई, कञ्चनपुर र डडेल्धुरामा एक–एक जनाको मृत्यु भएको हो । शुक्रबार राति कैलालीको लम्कीचुहा नगरपालिका– ३ बल्चौरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा से ४ प ६७६० नम्बरको मोटरसाइकलका चालक लम्कीचुहा नगरपालिका– १ लम्कीका २५ वर्षीय अनिष भण्डारीको मृत्यु भएको छ । 

प्रहरीका अनुसार पुर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा मोटरसाइकल अनियन्त्रित भएर सडक किनारको पिल्लरमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा भण्डारी र मोटरसाइकल पछाडि सवार सोही ठाउँका १५ वर्षीय तुफान भण्डारी घाइते भएका थिए । चालक अनिषको उपचारको क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै, शुक्रबार राति नै कैलालीमा अर्को मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका– १ र ४ को सीमानामा रहेको काँडा पुलमा पूर्वबाट पश्चिमतर्फ गइरहेको से ७ प ८१६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई पुलको किनारमा ठोक्किदा दुर्घटना भएको थियो । दुर्घटनामा घोडाघोडी नगरपालिका– ११ बस्ने २४ वर्षीय बिशाल कठरियाले र मोटरसाइकलमा सवार २३ वर्षीय रिता कठरिया घाइते भएका थिए । मोटरसाइकल चालक विशालको धनगढीस्थित नवजिवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । 

उता कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्लाफाटा नगरपालिका– ५ बनसमितिस्थित पूर्वपश्चिम राजमार्गमा म १ त ९३१ नम्बर को ट्याक्टर र  सु प प्र ०२००४ प २६८८ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिदा मोटरसाइकल चालक शुक्लाफाटा नगरपालिका– ५ का ४५ वर्षका गड्डु बिकको मृत्यु भएको छ । दुर्घटनमा टाउको र खुट्टामा चोट लागि गम्भीर घाइते भएका उनको महाकाली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि सवार ४० वर्षका शुक्लाफाटा–५ वस्ने विरराम पोखरेल घाइते भएका छन् । ट्याक्टर, ट्याक्टर चालक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखिएको छ ।

उता डडेल्धुरामा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आलिताल गाउँपालिका– ४ जालिटुडास्थित बुडर–जोगबुढा सडक खण्डमा दुर्घटना भएको छ । म १ च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भीनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा परशुराम नगरपालिका–१० जोजलाका २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको हो । दुर्घटनामा अछामको पञ्चदेवल नगरपालिका–३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते भएका छन् । दुर्घटनापछि अटो चालक गोपाल मगर फरार छन् । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

प्रतिक्रिया