ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जाँचबुझ आयोगमा लेखकको लिखित जवाफः आन्दोलनमा बल प्रयोगको आदेश दिएको थिइनँ

सोमबार १४, पुष २०८२ ०३:१९

काठमाडौँ । भदौ २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित जवाफ पेस गरेका छन्। 
उनले सोमबार आयोगमा उपस्थित भएर आफूले प्रदर्शनका क्रममा बल प्रयोग गर्न कुनै लिखित वा मौखिक आदेश नदिएको जिकिर गरेका हुन् । 

आयोगलाई बुझाएको ६ पृष्ठ लामो लिखित बयानमा लेखकले भदौ २२ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आफूले ’कुनै हताहती (क्याजल्टी) नहोस् र संयमता अपनाउनू’ भनी स्पष्ट निर्देशन दिएको दाबी गरेका छन् । उनले सुरक्षा निकायको अपरेसनल काममा मन्त्रीले हस्तक्षेप नगर्ने र कानुनले पनि त्यस्तो अधिकार नदिएको जिकिर गरेका छन्।

पूर्वगृहमन्त्री लेखकले जेनजी समूहले भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै गरेको शान्तिपूर्ण प्रदर्शनलाई लोकतन्त्र विरोधी तत्त्वले ‘हाइज्याक’ गरेर हिंसात्मक बनाएको जिकिर गरेका छन् । उनले संसद् भवन, सर्वोच्च अदालत र आफ्नै निजी निवास लगायतमा भएको आगजनीलाई ‘सुनियोजित षड्यन्त्र’ र ‘लोकतन्त्रमाथिको आक्रमण’ को संज्ञा दिएका छन्।

घटनामा युवाहरूको ज्यान गएपछि आफू मर्माहत भएको र नैतिकताको आधारमा तत्कालै राजीनामा दिएको उनले स्मरण गराएका छन् । आगजनीमा आफ्नो घरका ऐतिहासिक दस्ताबेज नष्ट भएको र बिरामी आमालाई अक्सिजन विना अस्पताल लैजाँदा केही दिनपछि मृत्यु भएको दुखद प्रसङ्ग पनि उनले समेटेका छन्।

लेखकले आयोगको सिफारिसमा सरकारले बिना जानकारी तीन महिनादेखि आफ्नो राहदानी रोक्का गरेको र काठमाडौँ उपत्यका बाहिर जान प्रतिबन्ध लगाएकोमा आपत्ति जनाएका छन् । आफूलाई सफाइको मौका समेत नदिई गरिएको यो निर्णयलाई ’विधिको शासन र स्वच्छ सुनुवाइको सिद्धान्त विपरीत’ भएको उनको भनाइ छ ।

प्रतिक्रिया