ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
सुदूरपश्चिममा यी पद रिक्त हुँदै

राजनीतिक नियुक्तिका लागि ‘लबिङ’मा काँग्रेस–एमाले नेताहरु

बुधबार १०, पुष २०८१ ०५:३३

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विभिन्न पदमा राजनीतिक नियुक्तिका लागि कसरतमा जुटेको छ । सरकारले नियुक्त गर्ने कतिपय पद रिक्त भएका छन् भने कतिपयको अवधि सकिनै लागेको छ । राजनीतिक नियुक्ति हुने पद बाँडफाटका लागि प्रदेश सरकार र यहाँका सत्ता साझेदार दल छलफलमा जुटेका हुन् । 

प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति, प्रदेश युवा परिषद्, प्रदेश नीति तथा योजना आयोग, प्रदेश लोकसेवा आयोग, मुख्य न्यायाधिवक्ता, चार वटा पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समिति, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, जिल्लास्तरीय अस्पताल र आयुर्वेद चिकित्सालयको व्यवस्थापन समितिमा राजनीतिक नियुक्ति हुँदै आएको छ । यीमध्ये केही पद रिक्त भइसकेका छन् भने अधिकांश पदाधिकारीको कार्यकाल यसै वर्ष सकिदै छ ।

२०७८ फागुन २९ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले अस्पताल व्यवस्थापन समितिमा राजनीतिक नियुक्ति गरेको थियो । सेती प्रादेशिक अस्पतालको अध्यक्षमा नरबहादुर शाह र महाकाली प्रादेशिक अस्पतालमा कृष्णानन्द भट्ट नियूक्त भएका थिए । 
त्यस्तै, टीकापुर अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा झपटबहादुर सोडारी, अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरामा मानबहादुर कार्की, बझाङमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालमा पार्वती भट्ट नियुक्त भएका थिए । सरकारले जिल्ला अस्पताल डोटीको अध्यक्षमा धनबहादुर नेपालीलाई २०७८ चैतमा नियुक्त गरेको थियो । 

सामाजिक विकास मन्त्रालयका प्रवक्ता गणेशबहादुर सिंहका अनुसार डोटीबाहेक प्रदेश मातहतका सबै अस्पताल व्यवस्थापन समितिमा नियुक्त अध्यक्ष र सदस्यको पदावधि आगामी फागुनमा सकिदैछ । डोटी जिल्ला अस्पतालका अध्यक्ष र सदस्यको कार्यकाल भने चैतसम्म छ । ‘कार्यकाल सकिएपछि नियुक्तिको प्रक्रिया अगाडि बढ्छ,’ प्रवक्ता सिंहले भने ।

पदाधिकारी नियुक्तिमा भागवण्डा गरिने 

अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष र सदस्य नियुक्तिका लागि सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमाले भागवण्डा गर्ने तयारीमा लागेका छन् । दुई प्रादेशिक अस्पतालमध्ये सेतीमा काँग्रेस र महाकालीमा एमालेले अध्यक्ष पाउने सम्भावना छ । 

यस्तै, प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष पनि नियुक्त गर्ने तयारी छ । एकीकृत समाजवादीका दीर्घ सोडारी नेतृत्वको सरकार ढलेसँगै आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका थिए । तर उनको राजीनामा स्विकृत भइसकेको छैन । आयोगमा कसलाई उपाध्यक्ष बनाउने भन्ने तय नभएकाले मुख्यमन्त्रीले कमलबहादुर शाहले विश्वकर्मालाई निरन्तरता दिएका हुन् ।

भागवण्डामा आयोगको उपाध्यक्षमा काँग्रेसले दावी गरेको छ । त्यस्तै खेलकुद परिषद्मा सदस्य सचिव र सदस्यको कार्यकाल पनि आगामी चैतमा सकिदै छ । २०७७ चैतमा चार वर्षका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा दीपकबहादुर सिंह नियुक्त भएका थिए । परिषद्को सदस्य सचिवमा काँग्रेसले नै दावी गरेको छ । 
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरको चार वर्षे कार्यकाल पनि आगामी जेठमा सकिँदै छ । परिसद्मा उपाध्यक्ष नियुक्तिमा एमालेको दावी छ ।  

प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सिफारिसमा चार वटा पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिमा अध्यक्ष, कार्यकारी निर्देशक र तीन सदस्य मन्त्रीपरिषद्ले नियुक्त गर्दै आएको छ । 

मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठका अनुसार रामारोशन पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिमा अध्यक्षलगायतको पद रिक्त भइसकेको छ । त्यहाँ राजनीतिक नियुक्तिका लागि अछामका काँग्रेस र एमालेका नेता प्रदेशदेखि केन्द्रसम्म लविङ गरिरहेका छन् । २०७७ असोजमा रामारोशन पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा चक्र रावल नियुक्त भएका थिए । 

त्यस्तै खप्तड पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिमा अध्यक्षलगायत पदाधिकारीको कार्यकाल माघदेखि रिक्त हुँदै छ । त्यहाँ अध्यक्ष नियुक्तिका लागि त रकमको मोलमोलाई नै भइरहेको छ । खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा २०७७ पुसमा हर्कबहादुर सिंह नियुक्त भएका थिए । 

बैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति अछामको अध्यक्षमा खड्गबहादुर खड्काको कार्यकाल पनि चैतमा सकिदै छ । सरकारले उनलाई २०७७ चैतमा अध्यक्ष नियुक्त गरेको थियो । बडीकेदार क्षेत्र पर्यटन विकास समितिको अध्यक्ष देबहादुर बोहराको कार्यकाल भने २०८२ असारसम्म छ ।

गठबन्धनमा सहमति खोजिने

सत्ता गठबन्धनबीच प्रदेशमा रिक्त राजनीतिक नियुक्तिहरु सहमतिका आधारमा टुङ्ग्याउने तयारी छ । सरकारको नेतृृत्व गरिरहेको काँग्रेस र सत्तासाझेदार एमाले गठन गरेको सुदूरपश्चिम प्रदेशस्तरीय राजनीतिक संयन्त्रले राजनीतिक नियुक्तिमा सहमति गर्ने निर्णय गरेको हो । 

धनगढीमा बसेको संयन्त्रको पहिलो बैठकले सहमतिकै आधारमा चाँडै नाम टुङ्ग्याउने निर्णय गरेको काँग्रेस सुदूरपश्चिमका प्रवक्ता सुरत रावतले जानकारी दिए । दुवै पार्टीका संसदीय दलका नेता बसेर भागवण्डा टुङ्ग्याउने सहमति भएको एक नेताले बताए । 

‘दलका नेताले टुङ्ग्याउने नसकेको खण्डमा काँग्रेसका सुदूरपश्चिम सभापति बीरबहादुर बलायर र एमालेका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टको अगुवाइमा भागवण्डा मिलाउने सहमति छ,’ तीन नेताले भने । 

प्रतिक्रिया