ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दै

सोमबार ०३, मङि्सर २०८१ १०:१३

धनगढी । अन्न उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको कैलालीमा कृषिमा आधुनिक प्रविधि र उपकरणको प्रयोग बढ्दै गएको छ । आधुनिक यन्त्र–उपकरणको प्रयोगले खेती लगाउन किसानलाई सहज हुनुका साथै लागतसमेत घटेको छ । खेती लगाउन नयाँ प्रविधि र उन्नत बीउबीजनको प्रयोग हुन थालेपछि उत्पादकत्वमा समेत वृद्धि हुँदै गएको सरोकारवाला निकायले बताएका छन् ।

धनगढीका किसान रामबहादुर चौधरीले बाली लगाउने समयमा खेत खनजोत गर्न पावर टिलर प्रयोग गर्न थालेको छ वर्ष भयो । त्यसअघि गोरु र राँगाले खेत जोत्दै आएका उनी आधुनिक यन्त्र प्रयोग गर्न थालेदेखि खेती गर्न पहिलेको भन्दा निकै सहज भएको अनुभव सुनाउँछन् । ‘गोरु, राँगाले खनजोत गरेर महिना दिनसम्म लाग्ने काम पावर टीलरलगायत यन्त्रको प्रयोगले छोटो समयमै हुने गरेको उनले बताए ।

दुई विघा जमिनमा खेती लगाउँदै आएका उनलाई पहिलो गोरु, राँगाले जोतेर खेती लगाउन महिना दिन बित्थ्यो । ‘गोरुले दिनभर जोत्ने जति खेत अहिले पावर टीलर र ट्याक्टरले केही घण्टामै जोतिसक्छ’ चौधरीले भने, ‘अहिले खेती गर्न सजिलो भएको छ ।’

आधुनिक यन्त्रको प्रयोग गर्न थालेपछि खेतीका लागि वर्षभरि गोरु स्याहार्नु पर्ने झण्झट पनि हटेको कृषकहरु बताउँछन् । आधुनिक यन्त्रको प्रयोगले किसानले गोरु पाल्न छाडेपछि खेतमा गाइबस्तुको प्राङ्गारिक मलको प्रयोग भने घट्न थालेको कृषि प्राविधिक बताउँछन् ।

अधिकांश किसान हिजोआज बाली लगाउनदेखि भित्र्याउनेसम्मका काममा कृषि यन्त्रको प्रयोग गर्ने गर्छन् । आधुनिक यन्त्रको प्रयोगले खेती लगाउन सजिलो गरिदिएको कैलारी गाउँपालिकाको हसुलियाका लक्ष्मीप्रसाद डगौरा बताए । कृषि यन्त्रको प्रयोग गरेर खेती लगाउन थालेपछि लागत र समय दुवै घटाएको उनले बताए । ‘दिनभर गर्ने काम मेसिनले एक÷डेढ घण्टामै गरिदिन थालेपछि सजिलो हुनेनै भयो’ उनी भन्छन्, ‘समय पनि बचत हुन्छ ।’

सरकारी निकायले अनुदानमा कृषि यन्त्र वितरण गर्नु तथा समूह, सहकारीमार्फत् पनि कृषकहले यन्त्रहरु खरिद गर्न थालेपछि पछिल्ला वर्षमा यहाँ कृषिमा यान्त्रिकीकरणको प्रयोग बढेको हो । खेती लगाउनका लागि खेत खनजोत गर्न, धान, गहुँ काट्न, चुट्न किसानले ट्याक्टर, हाते ट्याक्टर, थ्रेसर, कम्पाइनलगायत उपकरण प्रयोग गर्ने गरेका छन् । कतिपय ठाउँमा किसानले धान रोप्नसमेत मेसिन प्रयोग गर्न थालेका छन् ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा धान, गहुँ लगाउन तथा भित्र्याउन कृषि उपकरण प्रयोग गर्ने किसानको संख्या ९५ प्रतिशतभन्दा माथि छ । ज्ञान केन्द्र प्रमुख हरिप्रसाद पनेरुले तीनै तहका सरकारले कृषि यन्त्र खरिदमा अनुदान दिन थालेपछि कृषिमा यान्त्रिकीकरण बढेको बताए । ‘कृषि यन्त्र किन्न सबै किसानको पहुँचमा छैन तर समूह तथा भाडामा भए पनि प्रयोग गर्ने कृषकको संख्या ९५ प्रतिशतभन्दा बढी छ’ उनले भने, ‘यान्त्रिकीकरणले लागत पनि घटाएको छ र खेती लगाउन पनि सहज भएको छ ।’ 

कृषि गणनाको तथ्यांकअनुसार कैलालीमा करिब ६५ हजार हेक्टरमा धान खेती गरिन्छ । त्यस्तै करिब ३५ हजार हेक्टरमा गहुँ खेती हुने गरेको छ । यहाँ प्रधानमन्त्री कृषि आधुनिक परियोजनाअन्तर्गत केही पालिकामा धान सुपर जोन, गहुँ सुपरजोनलगायत कार्यक्रमहरु कार्यान्वयनमा छन् ।

भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकामा धान सुपरजोन तथा घोडाघोडी र गौरीगंगा नगरपालिका तथा कैलारी गाउँपालिकामा गहुँ सुपरजोन कार्यक्रम कार्यान्वयनमा छ । परियोजना, सुदूरपश्चिम कृषि विकास निर्देशनालय तथा कृषि ज्ञान केन्द्रले कृषि यन्त्र खरिदमा अनुदान दिने गरेका छन् । सुपरजोन लागु भएका क्षेत्रमा परियोजनाले ‘कस्टम हायरिङ सेन्टर’ पनि स्थापना गरेको छ । 

कैलालीमा धानको उत्पादकत्व प्रतिहेक्टर ४.७ मेट्रिकटन र गहुँको उत्पादकत्व प्रतिहेक्टर ३ मेट्रिकटन रहेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । केन्द्रका अनुसार करिब छ वर्षअघि धानको उत्पादकत्व प्रतिहेक्टर ३ मेट्रिकटन र गहुँको उत्पादकत्व साढे दुई मेट्रिकटन रहेको थियो ।     

प्रतिक्रिया