धनगढी । नेपाल आयाल निगमको धनगढीस्थित डिपो बस्तीले घेरिएको छ । बाक्लो बस्तीले घेरिएर जोखिम बढेपछि आयल निगमले धनगढीबाट डिपो सार्ने तयारी गरेको छ । निगमका अनुसार डिपो सार्न जग्गाको खोजी भइरहेको छ ।
धनगढीमा घना बस्तीबीच रहेको डिपो कञ्चनपुरको पुनर्वासमा रहेको राष्ट्रिय आवाश कम्पनीको जग्गामा सार्ने निगमको योजना छ । तर, स्थानीयस्तरमा सहमति हुन नसक्दा जग्गाको टुङ्गो लागिसकेको छैन । बस्तीसँगै जोडिएको डिपो सार्न निगमले बस्तीबीचकै जग्गा हेरेको हो । राष्ट्रिय आवाश कम्पनीको जग्गा पनि बस्तीकै बीचमा पर्छ ।
डिपोका लागि जग्गा दिन आवाश कम्पनी तयार छ । स्थानीयस्तरमा भने जनप्रतिनिधि र स्थानीयसँग निगमले सहमति गर्न सकेको छैन । पुनर्वासमा डिपो स्थापनाका लागि निगमले स्थानीयबासिन्दा र जनप्रतिनिधिको सहमति खोजिरहेको छ । डिपो स्थापनाको विषयमा स्थानीयबासिन्दा र जनप्रतिनिधि एकमत नभएपछि निगमले थप प्रकृया अगाडि बढाउन नसकेको हो ।
नेपाल आयल निगमको प्रादेशिक कार्यालय धनगढीका प्रमुख हरिदत्त जोशीले आवाश कम्पनीको बाँकी जमिनको उपभोग र डिपो स्थापना गर्दा प्रदुषण हुनसक्ने विषयमा स्थानीयले चाँसो राखेका बताए ।
‘जग्गा प्राप्तिका लागि पुनर्वासका स्थानीयबासिन्दा र जनप्रतिनिधिसँग छलफलमै छौँ, टुङ्गि सकेको छैन’ जोशीले भने, ‘आवाश कम्पनीको बाँकी जमिनको उपभोग कसरी गर्ने र डिपो स्थापना गर्दा धेरै गाडीहरु आउने भएकाले प्रदुषण हुन्छ की भन्ने स्थानीयबासिन्दा र जनप्रतिनिधिको चिन्ता छ ।’
पुनर्वासमा आवाश कम्पनीको नाममा करिब ७४ विघा जमिन छ । त्यसमध्ये २२ विघा जमिन किनेर आधुनिक डिपो स्थापना गर्ने निगमको योजना छ । निगमको टोलीले जग्गाको निरीक्षण गर्नुका साथै डिपो स्थापनाबारे स्थानीयसँग छलफलसमेत गरेको थियो । डिपो स्थापनाबारे जनप्रतिनिधि र स्थानीयबासिन्दा एकमत छैनन् ।
पुनर्वास नगरपालिका–५, का स्थानीय हिमेश थापा गाउँको विकास हुन्छ भने डिपो रोक्न नहुने धारणा राख्छन् । ‘डिपो स्थापना हुँदा विकास हुन्छ भने रोक्नु हुँदैन, जमिन बाँझो छ, उपयोग हुन्छ’ उनले भने ।
अर्का स्थानीय जयबहादुर सिंहले भने जोखिम हुने र प्रदुषणसमेत बढ्ने भएकाले बस्तीसँगै जोडिएको जमिनमा आयल निगमको डिपो स्थापना गर्न नहुने तर्क गर्छन् । आवाश कम्पनीको जमिनबाट बस्ती धेरै टाढा नरहेको उनले बताए ।
ठूलो जमिन भएकाले आयल निगमको डिपो बनाउनेभन्दा औद्योगिक क्षेत्र, कृषि क्याम्पसलगायत अन्य प्रयोजनका लागि उपयोग गरिनुपर्ने सिंहले बताए ।
‘डिपो ल्याउनु हुन्छ, हुँदैनभन्दा पनि आवाश कम्पनीसँग हाम्रो सरोकार हो’ पुनर्वास नगरपालिका–६, का अध्यक्ष मित्रसिंह लामाले भने, ‘आवाश कम्पनीसँग धेरै जमिन छ, डिपो स्थापना भए बाँकी जमिनको उपभोग कसरी हुन्छ ?’
पुनर्वास नगरपालिकाका प्रमुख तोयाप्रसाद शर्माले निगमको डिपो स्थापनाको विषय छलफलमै रहेको बताए । नेपाल आयल निगमले यस विषयमा सहजीकरण गरिदिन भनेपछि स्थानीयस्तरमा छलफल भइरहेको उनले जानकारी दिए । ‘नागरिकमा दुई खालको मत छ । हामी आफू पनि छलफलमा छौँ’ उनले भने, ‘यो क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघ र प्रदेशका सांसदसँग समेत छलफल गरेर निर्णय लिन्छौँ ।’
पुनर्वास क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ बस्ती नजिकै आयल निगमको डिपो राख्न नहुने पक्षमा छन् । ‘आसपास बस्ती छ । बस्ती विकास बढ्दै छ । गाउँको बीचमा आयल निगमको डिपो राख्ने कुरा कहीँ पनि हुँदैन, डिपो स्थापना गरे बाँकी जमिनमा केही प्रोजेक्ट आउँदैन’ उनले भने ।
धनगढीमा रहेको निगमको डिपो बस्तीले घेरिएको छ । बस्तीको बीचमा जोखिम हुनुका सबै भण्डारण क्षमता विस्तारका लागि निगम नयाँ डिपो स्थापना गर्न लागेको हो । धनगढी डिपोमा अहिले आठ सय ३० किलोलिटर पेट्रोल, एक हजार ५९० किलोलिटर डिजल र ७० किलोलिटर मट्टितेल भण्डारण क्षमता छ । डिपोको पेट्रोल र डिजल भण्डारणले प्रदेशको पाँचदेखि सात दिनसम्मको माग धान्छ ।
भण्डारण क्षमता विस्तारका लागि पनि डिपो स्थानान्तरण गर्न लागिएको निगमको प्रादेशिक कार्यालय प्रमुख जोशीले बताए । डिपो स्थापनाका लागि गोदावरी नगरपालिकामा पनि निगमले जमिन हेरेको थियो । गोदावरी–८, स्याउलेको शिवशक्ति महिला सामुदायिक वनको बुट्यान भएको क्षेत्रमा डिपो स्थापना गर्ने विकल्पमा पनि छलफल भइरहेको जोशीले बताए । डिपो स्थापनाका लागि सामुदायिक वन सहमत रहेको उनले बताए ।
‘पुनर्वासलाई पहिलो प्राथमिकतामा राखेर छलफल गरिरहेका छौँ, विकल्पको रुपमा स्याउलेमा स्थापना गर्नेबारे पनि कुरा भइरहेको छ’ जोशीले भने, ‘यो विषय केन्द्रले आफै हेरिरहेको छ ।’
प्रतिक्रिया