धनगढी । धनगढीको मुख्य बजार क्षेत्रअन्तर्गत कैलालीपुलदेखि क्याम्पस चोकसम्मको सडक निर्माण कार्य भइरहेको छ । नाली निर्माणको काम पूरा भएर केही ठाउँमा सडक कालोपत्रे तथा वेश निर्माणको काम गरिदैछ ।
जिल्ला प्रहरी कार्यालय नजिकको नालादेखि क्याम्पस रोडसम्म एक साइडमा पहिलो ‘लेयर’ कालोपत्रे भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार पहिलो लेयर कालोपत्रेको ट्रायल पनि पास भएको छ । निर्माण शुरु भएको २० महिनामै सडकको दुवैतर्फ नाली, माटे लेयर, सववेस निर्माण सम्पन्न भएको छ ।
सडक खण्डको कैलालीपुलदेखि पार्कमोडसम्म सवबेस निर्माण सकिएको छ भने अधिकांश ठाउँमा बेस निर्माणको काम पनि भइसकेको छ । घाम लाग्न छाडेको हुँदा निर्माण कम्पनीले बेस निर्माणमा केन्द्रित भएको पूर्वाधार विकास कार्यालय कैलालीका साइड इञ्चार्ज हर्क जोशीले बताए । उनले राम्रोसँग घाम लागेपछि कालोपत्रेको काम अगाडि बढ्ने बताए ।
कैलालीपुलदेखि क्याम्पस चोकसम्म मिडियन र साइड ड्रेनसहितको चार लेन सडक निर्माण हुन लागेको हो । २.३ किलोमिटर लामो यो सडक खण्ड ‘अक्स्फाल्ट कंक्रिट’ प्रविधिबाट कालोपत्रे हुँदैछ । जसको मोटाई १० सेन्टिमिटर हुन्छ । प्राविधिक कार्यालयका अनुसार अक्स्फाल्ट कंक्रिटको मिश्रणमा २ प्रतिशत सिमेन्ट, ५.४ बिटुमिन, बाँकी ९२.६ प्रतिशत १३ एमएमभन्दा साना गिट्टी र ढुंगाकै डस्ट प्रयोग गर्ने स्टिमेट छ ।
साइड इञ्चार्ज जोशीले पहिलो लेयरमा ५ सेन्टिमिटर अक्स्फाल्ट कंक्रिट हालेर सेट गरिएको बताए । उनले दोस्रो लेयरमा पनि ५ सेन्टिमिटर अक्स्फाल्ट कंक्रिट हालेर रोलरले दवाइने बताए ।
धनगढीको मेनरोड निर्माणको काम फटाफट भइरहेको भए पनि त्यसमा गुणस्तरको सवाल पनि उत्तीकै छ । सडक प्राविधिकहरुका अनुसार अक्सफाल्ट प्रविधिबाट बनाइएका जुनसुकै सडकको आयु १५ देखि ३० वर्षसम्मको हुन्छ र सडक ‘स्मुथ’ (एकै तहको) हुने भएकोले सवारी साधन चल्दा कुनै पनि चाल महसुस हुँदैन ।
कालोपत्रेको पहिलो लेयरमा उवडखावड
धनगढीको मेनरोडमा गरिएको पहिले लेयरको कालोपत्रेमा भने उभडखावड देखिएको छ । जसले गर्दा कालोपत्रेको गुणस्तरमाथि समेत स्थानीयले प्रश्न उठाएका छन् । ‘कालोपत्रे गरिएको ठाउँमा सतह बराबर छैन, सवारी साधन चलाउँदा कच्ची सडकमा चलाएको जसरी हल्लिने हुन्छ’ एक स्थानीयले भने, ‘मापदण्डअनुसार बनेको छ/छैन सरोकारवाला निकायले हेर्ला ।’
पूर्वाधार विकास कार्यालयका साइड ईञ्चार्ज जोेशीले भने ३/३ मिटरको चौडाइमा अक्स्फाल्ट कंक्रिट हालेर दवाउँदा लाइनिङ देखिएको बताए । दोस्रो चरणको कालोपत्रे गर्दा सडक स्मुथ भएर आउने उनको दावी छ ।
सडकको सववेस र वेस कसरी कम्प्याक्ट गरिएको छ र सडकको डिजाइन कस्तो बनाइएको छ भन्ने कुराले सडकको भार बहन क्षमतालाई निर्धारण गर्ने सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयका निर्देशक सिनियर डिविजनल इञ्जिनियर जगतप्रकाश जोशीले बताए । ‘अक्स्फाल्ट प्रविधिबाट गरिएको कालोपत्रे बलियो नै हुन्छ । तर निर्माण गर्दा गुणस्तरमा कति ध्यान दिएको छ भन्ने कुराले महत्वपूर्ण हुन्छ’ उनले भने ।
मोहनापुल–अत्तरिया ६ लेन सडक पनि अक्स्फाल्ट कंक्रिट प्रविधिबाट बनेको हो । सो सडक निर्माण गर्दा गुणस्तरमा ध्यान नदिइएकोले सडकमा शुरुदेखि नै उभरखाभर छ भने कतिपय ठाउँमा भाँसिएको छ । कतिपय ठाउँमा चिरासमेत पर्न थालेको छ ।
ट्राफिक भार, हावापानी र घामबाट हुने सानातिना खुम्चाइ वा फैलाइ अक्सफाल्ट कंक्रिटबाट बनेको सडकको सतहले आफैभित्र समाहित गराउन सक्ने भएकाले यस्ता सडक चर्कने वा फुट्ने सम्भावना कम हुने प्राविधिकहरु बताउँछन् ।
कति भयो काम ?
भौतिक पूर्वाधार विकास कार्यालय कैलाली र केएस कन्स्ट्रक्सन प्रालिबीच २०८० बैशाख २७ गते यो सडक निर्माणको सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी २६ बैशासम्म सडक निर्माणको काम पुरा हुनुपर्ने छ । हाल सडक निर्माणको भौतिक प्रगति करिब ६५ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
५१ करोड ६८ लाख ७८ हजार ६४१ रुपैयाँमा सडक निर्माणको ठेक्का सम्झौता भएको थियो । पूर्वाधार विकास कार्यालयले केएस कन्स्ट्रसनलाई २०८१÷८२ को पहिलो चौमासिकसम्म २८ करोड ७३ लाख नौ हजार ७९१ रुपैयाँ भुक्तानी दिइसकेको छ ।
सम्झौता बमोजिम २२ करोड ९५ लाख ६८ हजार ८५० रुपैयाँ (४४.४१ प्रतिशत) भुक्तानी दिन बाँकी छ भने ३५ प्रतिशत काम गर्न पनि बाँकी छ । तर, सुदूरपश्चिम प्रदेश सरकारले यस सडकको लागि चालु आर्थिक वर्षमा १० करोड ५० लाख रुपैयाँमात्रै विनियोजन गरेको छ ।
प्रतिक्रिया