ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी–अत्तरिया छ लेन सडक चिराचिरा

बुधबार १७, पुष २०८१ ०७:२४

धनगढी । निर्माण पूरा नहुँदै भाँसिएको धनगढी मोहना पुल–अत्तरिया छ लेन सडक अहिले ठाउँठाउँमा चर्किएको छ । सडकको कयौँ ठाउँमा चिरा परेका छन् । बोराडाँडी र गेटा मेडिकल कलेजकाे क्षेत्रमा सडक भाँसिएको पनि छ । 

एक अर्ब ६५ करोड खर्च गरेर बनाइएका छ लेन सडक निर्माण नसकिदै भाँसिएपछि निर्माण कम्पनीले टालेको थियो । निर्माण कार्य सकिएको एक वर्षपछि सडक भाँसिनुका साथै चिरा पर्न थालेको हो । हाइस चालक चक्र देउवाले ६ लेन सडकमा आवतजावत गर्दा दुर्घटनाको जोखिम रहेको बताए । ‘सडक थुप्रै स्थानमा चिराचिरा परेको छ,’ उनले भने, ‘त्यसैमा सडकको सतह पनि मिलेको छैन । जसका कारण दुर्घटनाको जोखिम बढेको छ ।’

सडक निर्माणका क्रममा माटे लेयर, सववेस र वेस राम्रोसंग ‘कम्प्याक्ट’ नगरेको सडक भाँसिने र चिरा पर्ने समस्या देखिएको प्राविधिहरु बताउँछन् । यो सडक निर्माणका क्रममा धनगढीमा छुट्टै आयोजना कार्यालय स्थापना गरिएको थियो । अहिले महाकाली पुल कार्यालयले छ लेन सडक हेरिरहेको छ । महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरका इञ्जिनियर सन्तोष चन्दले कालोपत्रेको ल्याव परीक्षण प्रतिवेदनमा कैफियत नदेखिए पनि मर्मत् गर्नुपर्ने अवस्थामा सडक पुगेको बताए । 

उनले सम्पूर्ण निर्माणको कार्य सकिएकाले सडक डिविजन कार्यालय महेन्द्रनगरलाई हस्तान्तरण भए पनि डिविजन कार्यालयले नै मर्मत गर्ने बताए । धनगढीदेखि अत्तरियासम्मै ठाउँठाउँमा सडक भाँसिनुका साथै चर्किएको छ । चर्किएको सडकमा खाल्डाखुल्डी समेत पर्न थालेका छन् । जसले गर्दा सडक दुर्घटनाको जोखिम पनि बढेको छ । 

धनगढी उपमहानगरपालिकाले छ लेन सडकलाई झिलिमिलि बनाएको छ । सडकको अवस्था भने बिग्रदै गएको छ । धनगढी उपमहानगरपालिकाले पनि सडक मर्मत तर्फ ध्यान दिएको छैन ।

डेन्स बिटुमिन म्याकाडम (डिबिएम) र अक्स्फाल्ट कंक्रिट गरी दुई प्रविधिको मिश्रणबाट छ लेन सडक निर्माण गरिएको थियो । डिबिएमलाई नेपालीमा घना बिटुमिन रोडी भन्ने अर्थ लाग्छ । १० सेन्टिमिटर मोटाइको कालोपत्रे सडकमा पहिलो चरणमा ६ सेन्टिमिटर मोटो डिबिएमबाट कालोपत्रे गरिएको थियो । दोस्रो चरणमा थप ४ सेन्टिमिटर मोटाइको अक्स्फाल्ट कंक्रिट प्रयोग गरिएको थियो । 

यसरी निर्माण गरिएको यो सडकको आयु ५ देखि १० वर्ष र भारबहन क्षमता ४० टनसम्म रहेको इञ्जिनियर चन्दले बताए । उनले निर्माणताका गरिएको ल्याब रिपोर्टमा कमजोरी नदेखिएको बताउँदै ठूला मालबाहक गाडी गुडेको कारण छलेन सडक भाँसिएको र चर्किएको बताए । 

‘सडकको भारवहन क्षमताभन्दा ठूला मालवाहक गाडी गुडेको देखिन्छ,’ उनले भने, ‘अहिले छ लेन सडकमा ६० टन भन्दामाथिको मालबाहक गाडी गुड्ने गरेका छन् ।’ चन्दका अनुसार राजमार्ग सडक निर्माणको योजना बनाउँदा कतिसम्मको भार भएको गाडी आउँछ भन्ने सही अनुमाननै नगरी विस्तृत योजना प्रतिवेदन बनाइएको थियो । 

जसले गर्दा सडकले गुड्ने गाडीको भार थेग्न सकिरहेको छैन । या सडक निर्माण गर्दा मापदण्ड पुरा गरिएको थिएन र सडकको बेस कमजोर भइ भाँसिन थालेको छ । निर्माण सकिएको केही महिनामै सडक भाँसिन थालेपछि आयोजना कार्यालयलाई हस्तान्तरण गर्नुभन्दा पहिले निर्माण कम्पनीहरुले टालो हालेका थिए । 

टालो हालेर हस्तान्तरण गरिएपछि निर्माण कम्पनीहरुलाई आर्थिक वर्ष २०७९/०८० सम्म एक वर्षको डिफेक्ट लाइविलिटी प्रियड (डिएलपि), कमजोरी मर्मत गर्ने समयावधि दिएको थियो । सो डिएलपि सकिएको एक वर्ष भएको इञ्जिनियर चन्दले बताए । उनले डिएलपि सकिएकाले सरकारले नै मर्मत् गर्नुपर्ने बताए ।

धनगढी भन्सार रोडको मोहना पुलदेखि अत्तरिया चौराहासम १४.२ किलोमिटर सडकमा पहिलो खण्ड मोहना पुलदेखि बोराडाँडीसम्म साढे चार किलोमिटर शर्मा–अमर–नागार्जुन जेभी र दोस्रो खण्ड बोराडाँडीदेखि गेटासम्म साढे चार किलोमिटर लुम्बिनी–राजेन्द्र–डाँफे जेभीले निर्माण गरेका थिए । त्यस्तै तेस्रो खण्ड गेटादेखि अत्तरिया चौराहासम्म लामा–राजेन्द्र–डाँफे जेभीले निर्माण गरेको थियो ।

प्रतिक्रिया