धनगढी । नेत्र अर्यालका शब्द अनि गायक खेम सेन्चुरी र मधु क्षेत्रीको स्वरमा गुुञ्जिएको ‘सोँचे झैँ जिन्दगी रैनछ...’ चर्चित तीज गीत युट्युवको करोड क्लबमा दर्ज छ ।
त्यहीँ गीतका सुरुका हरफबाट प्रदेश सांसद चक्र मल्लले आफ्ना गुनासाका पोकाहरु फुकाउन सुरु गरे । शनिबार मुख्यमन्त्रीसहित सुदूरपश्चिम प्रदेश सरकारका पदाधिकारी, प्रदेश सांसद र स्थानीय तहका प्रमुखहरु एउटै थलोमा आमनेसामने थिए ।
स्थानीय तहका प्रमुखहरुले प्रदेश सरकारप्रति आक्रोस र रोष प्रकट गरिरहेका थिए । त्यसै क्रममा प्रदेश सांसद मल्लले आफ्ना भनाइहरु त्यही गीतका हरफबाट राख्न सुरु गरे । प्रदेशप्रति स्थानीय तहका पदाधिकारीहरुले व्यक्त गरिरहेका टिप्पणीहरु सहन गर्न नसकेर होला सायद सांसद मल्लले गीतको सहारा लिएको । स्थानीय तहलाई लक्षित गर्दै उनले भने, ‘गाउँमा त सिंहदरबार होइन, सिंहराज आएको जस्तो लाग्छ ।’
आफूहरुको इज्जत र अधिकार वडाध्यक्ष बराबार पनि नरहेको सार्वजनिक गुनासो गर्ने सांसदहरु धेरै छन् । `सोचे झैं जिन्दगी रैनछ भन्ने बाध्यता यसकारण आयो कि हामीले वित्तीय हस्तान्तरण पनि गर्यौं । २५ लाखभन्दा माथिका योजना पनि बनायौं,´ मल्लले भने, `तर, कार्यान्वयन भएन । योजना हाल्ने, दौडधुप पनि हामी गर्ने तर एउटा वडाध्यक्षले सिफारिस नगर्दा योजना कार्यान्वयन नहुने । वडाध्यक्षको सिफारिस मात्रै चाहिने, यस्तो पनि हुन्छ !´
थुप्रै सांसदहरुबाट यस्ता निरासा र गुनासाहरु सुनिदै आएको छ । तर मल्लले भने स्थानीय तहबाट पनि प्रदेशलाई हेपाहा व्यवहार भइरहेको गुनासो गरे ।
सोही कार्यक्रममा उपस्थित प्रदेश सांसद जुनाकुमारी दानीले पनि चर्कै लवजमा आफ्ना टिप्पणीहरु प्रस्तुत गरिन् । उनको भनाइ पनि सांसद मल्लकै आसयसँग मिल्दोजुल्दो थियो । ‘स्थानीय तहले हामी प्रदेश सांसदलाई आफ्ना कार्यक्रममा बोलाउँछन् त ?’ सांसद दानीले प्रश्न गरिन् ।
‘स्थानीय तहले प्रदेशलाई आरोप लगाउने, प्रदेशले कर्मचारीको दोष देखाउने,’ सांसद दानीले भनिन्, ‘एकले अर्कालाई आरोप लगाउने काममात्र नगरौं । रोइकराई नगरौं, प्रदेश हामी सबै मिलेर बनाउने हो ।’ गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रिय सदस्य उमेश भट्टले प्रदेश र स्थानीय तहले आपसमा सौता ठान्न नहुने र समन्वय गरेर अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
सरकार सञ्चालन तथा नेतृत्वको विकास विषयक प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको दुई दिने कार्यक्रममा शनिबार अधिवक्ता झंकर कुँवरले मुख्यमन्त्री, संविधानविद् काँशीराज दाहाल, नगरपालिका संघका केन्द्रिय सदस्य पदम बोहरा र गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रिय सदस्य उमेश भट्टबीच अन्तरसंवाद संचालन गरेका थिए ।
प्रतिक्रिया