ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा नेपाली भूमि अतिक्रमणबारे गृहमन्त्रीसँग जवाफ माग

सोमबार २२, पुष २०८१ ०५:०७

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटामा नेपालको जमिन भारतीय पक्षले उपभोग गरेको विषयमा सांसदहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू र एमाले सांसद रघुजी पन्तले कञ्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरेको विषयमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका हुन् ।  

समितिका सदस्य समेत रहेका एमाले सांसद पन्तले भने, ‘कञ्चनपुरको शुक्लाफाँटा भारतीयले उपभोग गरिरहेको जमिन सरकारले आफ्नो जिम्मामा ल्याउन पहल भइरहेको छ कि छैन ? यसमा गृहमन्त्रीको ध्यानाकर्षण होस्’, पन्तले गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै भने, ‘हाम्रो भूमि हाम्रो स्वामित्वमा आओस् । हाम्रो भूमिको रक्षा सरकारले गरोस् ।’

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले भूमि नेपालको नक्सामा तर भोगचलन भारतले गर्ने कार्य ठीक नभएको बताए । 'भूमी हाम्रो नक्सामा तर भोगचलनमा भारलते गरेको छ । यसलाई गम्भीरताका साथ हेर्नुपर्छ,' बडूले भने ।

जवाफमा गृहमन्त्री लेखकले भने, ‘हाम्रो जमिन भारतीय नागरिकले भोगचलन गरेको विषयमा सरकार जानकार छ । हामी यो विषयमा गम्भीर छौँ, दुवै देशको सहमति चाहिने भएकाले कूटनैतिक छलफल गरिरहेका छौँ । नेपालको भूमि र सीमा रक्षा गर्न सरकार कटिबद्ध छ ।’

प्रतिक्रिया