धनगढी । नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले परित्याग गरेको हल्ला फैलाइएपछि सचिवालयले खण्डन गरेको छ । भट्टका स्वकीय सचिव हितेस ओझाले उक्त खबर तथ्यहिन र भ्रामक भएको बताएका छन् ।
‘सामाजिक सञ्जालमा नेकपा (एमाले)का केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टसहित धेरैले पार्टी परित्याग गरेको खबरमा ध्यानाकर्षण भएको छ,’ ओझाले भने, ‘सम्पूर्ण शुभचिन्तक तथा नेकपा (एमाले)का नेता–कार्यकर्ताहरूमा यस्ता गलत, भ्रामक र तथ्यहीन हल्लाका पछाडि नलाग्न आग्रह गर्दछु । यस्ता तथ्यहीन कुप्रचार गर्ने कार्य जारी राखेमा कानुनी कारबाहीको प्रक्रियामा जान्छौं ।’
पूर्वसचिव भीम उपाध्यायले भट्टले एमाले छोडेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । ‘जता पद पाइन्छ त्यता कुद्ने माओवादी नेताहरू,’ उनले सामाजिक सञ्जालमा भट्टको फोटो राख्दै लेखेका छन्, ‘एमाले पार्टीका केन्द्रीय कमिटी सचिव एवम् सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज लेखराज भट्ट लगायत ४६ जनाले एमाले पार्टी परित्याग गरे ।’
प्रतिक्रिया