ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

माघीको तयारीमा जुट्यो थारू समुदाय

शनिबार २७, पुष २०८१ १२:०१

धनगढी । पुस महिनाको उत्तरार्धसंगै थारू गाउँमा माघीको तयारी सुरु भएको छ । नयाँ वर्षको रुपमा मनाइने माघीका लागि जिता, मघौटा नाच, खानपानका परिकारका लागि थारू समुदाय तयारीमा जुटेको हो । माघ १ गतेबाट थारू सम्बत् २६४९ सुरु हुँदैछ ।

पुसको अन्तिम दिन थारू गाउँमा सुंगुर काटेर पुरानो वर्षको विदाई गरिन्छ भने माघ १ गते बिहान अँध्यारैमा नदी, कुण्ड, ताल वा पोखरीमा स्नान गरी कुलदेवताको पुजा र चामल, दाल, नुन ५/५ वा ७/७ अञ्जुली छुट्याउने गरिन्छ । यसरी छुट्याएको अन्न आफ्नी विवाहित दिदीबहिनीलाई उपहार दिइन्छ । यस उपहारलाई निश्राउ भन्ने गरिन्छ । यसपछि ठूलाबडाको आशिर्वाद लिने चलन छ । बिहान उज्यालो भएदेखि घरघरमा गएर मान्यजनबाट आशिर्वाद लिने गरिन्छ ।

बिहानैदेखि अघिल्लो दिन काटेको बंगुरको मासु, ढिक्री, नयाँ आलुको अचार, उसिनेको सकरखण्ड र तरुलको परिकार खाइन्छ । पछिल्ला दिनहरुमा विभिन्न अन्य परिकारहरु पनि बनाउने चलन थपिएको छ । दिनभर आशिर्वाद लिइसकेपछि साँझबाट मघौटा नाच सुरु हुन्छ । नाच दुई÷तीन दिनसम्म निरन्तर चलिरहन्छ । माघको दोस्रो दिनबाट गाउँगाउँमा माघी दिवानी सुरु हुन्छ । कतैकतै यसलाई खोज्नीबोज्नी वा भुराखेली पनि भन्ने गरिन्छ ।

माघी दिवानीमा खास गरेर गाउँको भलमन्सा, बडघर चयन गर्ने परम्परा रहेको भादा गाउँका भल्मन्सा सन्तराम चौधरीले बताए । उनका अनुसार गाउँगाउँमा भल्मन्सा, बडघर चयन गर्ने माघी दिवानी दुई हप्तासम्म निरन्तर चलिरहन्छ । यसरी मनाइने माघीको लागि धान कुटाउने, ढिक्री बनाउने पिठोका लागि चामल पिसाउने, बंगुर खाने परिवारको सूचि तयार गर्ने, पात टिपेर दुना टपरी गाँस्ने, नाचका लागि मादल र टीम तयार गर्ने लगायतका तयारी भइरहेको भल्मन्सा चौधरीले बताए ।

पछिल्ला वर्षहरुमा माघी मनाउन मेला महोत्सव आयोजना गर्ने चलन पनि बढेको छ । ती मेला महोत्सवको आयोजनाको तयारी र नृत्य प्रदर्शनीको तयारीसमेत भइरहेका छन् । धनगढी–६ जाली गाउँमा यसपाली पनि माघी महोत्सव आयोजना गर्ने तयारी भइरहेको छ । गोदावरी–८ जोनापुरकी भल्मन्सा सीता चौधरीले नगरस्तरीय भल्मन्सा समितिले नगरस्तरीय माघी मेला तथा माघी मिलन कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको बताइन् ।

कैलालीको बेहडाबाबा, गोदावरी धाम, वनदेवी, बुट्का बाबा लगायतका ठाउँमा माघी मेला लाग्ने गरेको छ । घरघर गएर नाचिने मघौटामा सहभागीलाई घरबेटीले आफूले सक्दो पैसा र चामल, फुल दिएर विदाई गर्ने चलन रहेको धनगढी– १६ भादाका भल्मसा सन्तराम चौधरीले बताए । नाच्ने कलकारले दरीमा फिजाएको पैसा उत्तानो पल्टेर मुखले टिप्ने गर्छन् । यसरी पैसा टिप्न खास कला चाहिन्छ ।

माघी देवानीले अघिल्लो वर्षको समिक्षासंगै आगामी वर्ष योजना तर्जुमा र नेतृत्व चयन गर्ने गरेको भलमन्सा बड्घर समितिका कैलाली जिल्ला अध्यक्ष विलारु चौधरीले बताए । गाउँको भल्मन्सा÷बड्घर, चिराकी÷चौकीदार, गुरुवा÷केसौकाको कार्यकाल र गाउँ विकासको समिक्षा गर्ने गरिएको उनले बताए ।

पुरानैलाई निरन्तर जिम्मेवारी दिने वा नयाँ चुन्ने विषयको निष्कर्ष पनि माघी देवानीमा हुन्छ । भादामा एकवर्ष परीक्षणकाल दिने र राम्रो काम गरेको भए अर्को माघी देवानीबाट दुई वर्ष थप गर्ने चलन रहेको भलमन्सा चौधरीले बताए । भलमन्साको कार्यकाल गाउँगाउँको नियमअनुसार फरकफरक रहने गरेको अध्यक्ष चौधरीले बताए । पहिलेपहिले थारुहरुको घरभित्र पनि माघी देवानी बस्ने र छोराछोरीको विवाह गर्ने, आउने वर्ष कुन खेत कसले जोत्ने र त्यस खेतमा कुन बाली लगाउने वा कुन व्यवसाय गर्ने भनि छलफल हुने गरेको थियो । यसमा घरमुलीले हरेकको विचार बुझ्ने र चित्त नबुझे भाइभाइ अलग हुने चलन पनि थियो ।

तर पछिल्लो घरभित्रको माघी देवानी गर्ने चलन हराएर गएको छ । गाउँको किसानहरुको बैठक माघको पहिलो सातामा मात्रै नभएर आवश्यकता अनुसार अरु समयमा पनि बस्ने गरेको छ । अरु समयमा बस्ने बैठकलाई थारु गाउँमा खेल भन्ने गरिन्छ । जसले तत्कालको लागि योजना बनाउँछ र कार्यान्वयन गर्ने गरेको अध्यक्ष चौधरीले बताए ।

प्रतिक्रिया