ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न, कसले के भने ?

बुधबार ०५, मङि्सर २०८१ ०८:५७

धनगढी । सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी कैलालीको धनगढीमा सम्पन्न भएको छ । गृह मन्त्रालय र सुदूरपश्चिमको आन्तरिक मामिला मन्त्रालय तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा गृहमन्त्री रमेश लेखकले साइबर अपराध, सीमा सुरक्षा, सीमा नाकामा हुने राजस्व चुहावट, लागूऔषध, आत्महत्या, सवारी दुर्घटना र विपद् जस्ता समस्यालाई न्यूनीकरण गर्न सुरक्षा निकाय दुरूस्त हुनुपर्ने बताए । आसन्न उपनिर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्न उनले निर्देशन पनि दिए ।


कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की र प्रमुख सचिव डा. कमलप्रसाद पोखरेलले गोष्ठीको औचित्यबारे विचार व्यक्त गरेका थिए । 

गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले शान्ति सुरक्षाको अवस्था थप मजबुत बनाउन, व्यावसायिक तथा सहज प्रहरी सेवा सुनिश्चित गराउन, कानुनको निष्पक्ष कार्यान्वयन गर्न, न्यायको प्रत्याभूति दिलाउन र विकासमैत्री वातावरण सिर्जना गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए । 

 

सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी प्रकाश देउजा, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय
महाशाखाको तर्फबाट सहसचिव छवि रिजाल र सुदूरपश्चिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशिल वैद्यले प्रस्तुतीकरण गरेका थिए । 


गोष्ठीमा सुदूरपश्चिम प्रदेशका नौं वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रमलगायत विविध विषयमा प्रस्तुतीकरण गरेका थिए ।

गोष्ठीमा सुदूरपश्चिम प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र आगामी कार्यभार लगायतको विषयमा छलफल भएको थियो ।  गोष्ठीमा सुदूरपश्चिम प्रदेशका नौं वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया