धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई गृहजिल्ला डडेल्धुरामा सबैभन्दा बढी लाग्ने ओरोप हो, चुनावमा भोट माग्न मात्रै आउँछन् । चुनाव जितेपछि अर्को चुनाव नआउँदासम्म फर्किदैनन् भन्ने गुनासो सातपटक जिताएका डडेल्धुराबासीले गर्दै आएका छन् । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेर फर्किएका देउवा यसपटक दुई वर्षमा गृहजिल्ला पुगे ।
०४८ सालपछि निर्वाचनको अवधिलाई छोड्ने हो भने उनी सबैभन्दा लामो सयम अर्थात् छ दिनसम्म गृहजिल्लामा बास बसे । नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद यसपटक देउवा सात वटै पालिकाका सदरमुकामसम्म पुगेको बताउँछन् । ‘पहिले सभापतिज्यू गृहजिल्ला आउँदा चुनावी कार्यक्रम र कार्यकर्ता भेटघाटमा बढी व्यस्त हुनुहुन्थ्यो,’ उनले भने, ‘यसपटक सात पालिकाका ५२ वटै वडाका नागरिकसंग भेटघाट भएको छ । गाउँगाउँबाट स्वस्फुर्त रुपमा आम नागरिक सभापतिज्यूलाई भेट्न आउनुभएको थियो । कम्तिमा पनि सबै पालिकाका सदरमुकामसम्म उहाँ आफैँ पुग्नुभएको छ ।’
साउँदलाई देउवाको यसपटकको भ्रमण पहिलेभन्दा फरक लागेको छ । चुनावमा मात्रै गृहजिल्लामा देखिने देउवा यसपटक तीन वर्षअघि नै किन आए त ? जवाफमा साउँद भन्छन्, ‘यसपटकको डडेल्धुरा भ्रमणलाई नितान्त गैरराजनीतिकभन्दा पनि फरक पर्दैन होला । धेरैजसो धार्मीक कार्यक्रममा सहभागी हुनुभयो । दौतरीसंग भेटघाट गर्नुभयो । यसपटक उहाँको बोलीचाली नै फरक देखियो ।’
तर, अन्य पार्टीका नेताहरु भने देउवाको गृहजिल्ला दौडाहालाई गैरराजनीतिक मान्न तयार छैनन् । डडेल्धुरा नै घर भएका राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिमका पूर्वमहामन्त्री पारस बाहुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘०६४ सालमा संविधानसभा निर्वाचन लड्दा पनि उहाँले अन्तिमपटक भोट माग्नुभएको थियो । त्यसपछि पनि उहाँ तीन पटक निर्वाचित भइसक्नुभएको छ ।’ ०८४ सालको प्रतिनिधिसभा निर्वाचन पनि देउवा अन्तिमपटक भन्दै लड्न तयार हुने आशंका उनको छ ।
०७९ को प्रतिनिभिसभा निर्वाचनअघि आयोजित कतिपय चुनावी सभालाई सम्बोधन गर्दा देउवाले अन्तिमपटक उम्मेदवार भएको बताएका थिए । तर, ३० कार्तिकमा आयोजित पत्रकार सम्मेलनमा देउवाले दिएको जवाफले भने ०८४ को निर्वाचन उनी नै लड्छन् भन्ने आकलन गर्न थालिएको छ । ०८४ मा तपाईँ नै चुनाव लड्नुहुन्छ कि ? भन्ने प्रश्नमा देउवाले हाँसीहाँसी भनेका थिए, ‘तपाईं भन्नुस्, तपाईं भोट दिने कि नदिने ? दिने भए लड्छु ।’
छ दिने डडेल्धुरा बसाईका क्रममा देउवा धर्मकर्मभन्दा बढी व्यस्त कार्यकर्ता भेटघाटमै देखिएका थिए । आलिताल गाउँपालिका, परशुराम नगरपालिका, अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिका र अजयमेरु गाउँपालिकाका विभिन्न स्थानमा पुगेका देउवाले एउटै बोली दोह¥याएका थिए । त्यसक्रममा उनले जिल्लामा आफूले थालेका अधुरा र अपूराहरू कामहरु अब छिट्टै पूरा हुने बताएका थिए । ‘देउवाले आश्वासन दिन छोड्नुभएको छैन,’ काँग्रेस डडेल्धुराकै एक नेताले भने, ’उहाँको सक्रियता देखेर फेरि चुनाव लड्नुहुन्छ कि जस्तो लाग्यो ।’
देउवाले डडेल्धुराबाट सात पटक चुनाव जितिसकेका छन् । २०४८ को आमचुनावमा देउवा डडेल्धुराबाट पहिलोपटक विजयी भएका थिए । देउवाले २०५१ र २०५६ को संसदीय चुनाव, विसं २०६४ र २०७० को संविधानसभा चुनाव तथा २०७४ र २०७९ को संसदीय चुनावमा डडेल्धुराबाट जितेका थिए । उनी छैठाैँपटक प्रधानमन्त्री बन्ने कसरतमा छन् ।
जन्मथलो पुग्दा के भयो ?
३० कात्तिकमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रोखोलामा ‘असिउ’ मन्दिरको क्षेत्र भरिभराउ थियो । छेउमै रहेको चौतारामा बसेका थिए पूर्वप्रधानमन्त्री देउवा । रोखोला उनको जन्मथलो हो । उनलाई रोखोलाबासीले वरिपरीबाट घेरेका थिए । देउवासंगै चौतारोमा बसेका गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्की भन्छन्, ‘उहाँले आफ्ना गाउँका सबैलाई एकएक गरी भेटनुभयो । सन्चो बेसन्चोको कुरा भयो ।’
कार्कीका अनुसार भेटघाटका क्रममा देउवाका गाउँलेले असिउ मन्दिरमा महायज्ञ लगाउने प्रशंग निकालेका थिए । ‘सभापतिज्यूले महायज्ञका लागि सहयोग गर्ने आश्वासन दिनुभएको छ,’ उनले भने, ‘गाउँलेसंग कुनै राजनीतिक कुरा भएन । पारिवारिक कुराकानी मात्रै भएको थियो ।’ देउवा आफ्नो गाउँमा साढे दुई घण्टा बसेर जिल्ला सदरमुकाम फर्किएका थिए ।
उनी कुल पूजामा २३ वर्षपछि सहभागी भएका थिए । यसअघि गृहजिल्ला र जन्मथलो पुग्दा पनि देउवा जिल्लास्तरीय कार्यकर्ताको घेराबन्दीमा हुन्थे । ‘यसपटक भने देउवा त्यो घेराबन्दीबाट बाहिर निस्केका देखिन्थे,’ देउवाकै नाती पर्ने एकजनाले भने ।
देउवा कुल पूजासंगै उग्रतारा मेला र बडाल जाँतमा पनि सहभागी भएका थिए । उनी परशुराम धाम र आलिताल पनि पुगेका थिए ।
प्रतिक्रिया