धनगढी । पूर्वाधार केन्द्रित विकास गरी जनताको जीवनस्तर उकास्ने उद्देश्यका साथ लागू गरिएको हुलाकी राजमार्ग अवस्थित नयाँ सहर योजना अलपत्र परेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७२/०७३ मा लागू गरेको कैलालीको भजनी र कञ्चनपुरको बेलौरी नयाँ सहर योजना नौ वर्षदेखि अलपत्र छ । नेपाल सरकारले घोषणा गरेर पनि बजेट व्यवस्थापन गर्न नसकेकाले ती योजनाहरु अलपत्र परेका हुन् ।
तराईंमा आधारभूत पूर्वाधारमा कमजोर भएका सहर र बस्तीहरुमा पूर्वाधार केन्द्रित लगानी गरी त्यस क्षेत्रका जनताको जीवनस्तर उकास्ने उद्देश्यले कैलालीको भजनी र कञ्चनपुरको बेलौरी नगरपालिकासहित हुलाकी राजमार्गसंग जोडिएका १० र मधेशका पाँच सहरमा नयाँ सहर आयोजना लागू गरिएको थियो । हुलाकी राजमार्गसंग जोडिएका १० नयाँ सहरहरुमा एकीकृत पूर्वधार विकास गर्नका लागि एकीकृत विकास योजना (आइडिपि) पनि तयार गरिएको छ । आइडिपिअनुसार ती सहर योजना कार्यान्वयन गर्न तीन सय १० अर्ब ४९ करोड लाग्ने अनुमान गरिएको छ ।
आइडिपि तयार भएको भजनीमा पाँच अर्ब २६ करोड र बेलौरीमा आठ अर्ब ५३ करोड लागतमा नयाँ सहर तयार हुने आयोजना समन्वय कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा इस्टिेमेट बनाउनको लागि बजेट आएपछि संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले ठेक्का लगाएको थियो । ‘भजनीको इस्टिेमेटको जगसम्म बनायौं,’ संघीय आयोजना कार्यान्वयन इकाईका इञ्जिनियर मोहन अवस्थीले भने, ‘थोरै बजेट आएकोले सुरु मात्रै गरियो । पोहोर र यो साल पैसा नै आएन ।’
इञ्जियियर अवस्थीले नयाँ सहर कार्यक्रमअन्तरगत भजनीका लागि दुई वटा योजनाको डिपिआर गरेर विभागले इकाइमा दिएको बताए । ‘एउटा खेलकुद मैदानको र अर्को रिङ रोडको डिपिआर र कार्यक्रम आएको थियो,’ उनले भने, ‘रिङ रोड भनी भजनीबाट सुख्खड जाने रोडको डिपिआर बनाएर दिएको थियो । तर, सडक फरक परेको हुँदाले रिङ रोडको योजना कार्यान्वयन हुन सकेन ।’
यसैगरी, बेलौरी नयाँ सहर योजनाअन्तरगत आर्थिक वर्ष २०७९/८० मा नै ५० लाख बजेट आएको थियो । सो रकमबाट शोभा ताल संरक्षणको काम गरिएको इञ्जिनियर अवस्थीले बताए । उनले सोही वर्ष बेलौरीको लागि बसपार्क बनाउन ४० लाख रुपैयाँ बजेट आएको भए पनि जग्गा नपाउँदा कार्यक्रम कार्यान्वयन नभएको बताए । उनले सरकारले नयाँ सहर र स्मार्ट सिटी विकास कार्यक्रम घोषणा गरी अध्ययन गरेको भए पनि बजेट दिन नसकेकाले योजनाहरु अलपत्र रहेको बताए ।
प्रतिक्रिया