धनगढी । प्रहरीले कैलाली, कञ्चनपुर र बैतडीमा अवैध सामान फेला पारेको छ । तीनै जिल्लाका विभिन्न स्थानमा प्रहरीले तीन लाख ५४ हजार ४१० मूल्य बराबरको भन्सार छलीको अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-२ सिशापोष्ट नजिक र गोदावरी नगरपालिका-४ वनदेवीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी १ लाख २१ हजार ६८० मूल्यको चिनी, मिठाई, बेसनको पिठो, पानीपुरी, सुटपिस, स्विटर लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-५ सुकासाल र भीमदत्त-११ भुजेलाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी २ लाख १२ हजार २५० मूल्यको चिनी, खाने तेल, दाल, पिठो, साइकलका सामान, कपडा, किरानाका सामान, एक थान मोटरसाइकल लगायत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।
त्यसैगरी बैतडीको दशरथचन्द नगरपालिका-६ सेरास्थित महाकाली नदीको किनारबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी २० हजार ४८० मूल्यको २ क्विन्टल चिनी जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया