ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

विपिनको रिहाइका लागि पहल जारी, कतारका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्रीको फोन

मङ्गलबार ०१, माघ २०८१ ०२:२०

धनगढी । हमास समूहको नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ । हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरूलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिरहेकी छिन् ।

मन्त्री राणाले मंगलबार बिहान कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी छिन् । मन्त्री  खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् । मन्त्री राणाले कतारका मन्त्री खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी थिइन् । कुराकानीका क्रममा कतारका मन्त्री खुलाइफीले हमासहरूलाई इजरायलसँग युद्धविराममा ल्याउने विषय सकारात्मक रूपमा अघि बढिरहेको जानकारी गराउँदै हमासको अपहरणमा रहेकाको मुक्तिका लागि कतार सरकारले पहल गरिरहेको बताएका थिए । 

सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए । त्यसलगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरी लागेकोमा विपिन पनि रहेका छन् । 

प्रतिक्रिया