ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
डिआइजी कार्यालयको गेटमा ‘आइलभयु चित्रा’

सुदूरपश्चिम प्रहरीलाई ‘ओपन च्यालेन्ज’ !

शनिबार ०५, माघ २०८१ ०७:५३

धनगढी । समग्र शान्ति सुरक्षा कायम गर्नु, साइबर अपराधबाट जोगिनुु र जोगाउनु,  अपराधिक घटनाको अध्ययन अनुसन्धान गर्दै त्यस्ता कार्यमा संलग्नलाई कानुुनी दायरामा ल्याउने मुख्य जिम्मेवारी प्रहरीको हो । तर, प्रहरी आफैमाथि भएको अपराधिक हमलामा समेत रनभुल्ल पर्छ भने कल्पना गरौ कि नागरिक सुरक्षाको सवाल कति पेचिलो बनिरहेको होला ?

सुदूरपश्चिमको शान्ति सुरक्षा व्यवस्थापनको नेतृत्व गर्ने प्रदेश प्रहरी कार्यालय नै यतिबेला साइवर हमलामा छ । धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रवेशद्धारमा जडित डिजिटल बोर्डको सिस्टम ह्याक भएर ह्याकरले केही दिनअघि ‘आइ लभ यु चित्रा’ लेख्छ । तर प्रहरीलाई एक साताभन्दा लामो समयसम्म पनि त्यो कसले गर्‍यो र कसरी त्यो सब गर्न सम्भव भयो भन्ने नै यकिन छैन । यस घटनाले प्रहरी आफैँ असुरक्षित रहेको देखिन थालेको छ । 

प्रदेश प्रहरी कार्यालय लेखिएको बोर्डमा ‘आइ लभ यु चित्रा’ लेखेर स्क्रोल गरिएको थियो । ह्याकरले बोर्ड ह्याक गरेर ‘आइ लभ यु चित्रा’ लेखे ।

उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टाउको दुखाईको विषय बनेको छ । ह्याकरले प्रहरी नियन्त्रित सिस्टमलाई ह्याक गरेर डीआइजी कार्यालयकै प्रवेशद्धारमा ‘आइ लभ यु चित्रा’ लेख्नुलाई सामान्य घटना मान्न नसकिने सुरक्षा मामिलाका जानकारहरु बताउँछन् । 

पूर्वएआइजी तथा सिआइबी (केन्द्रीय अनुसन्धान ब्यूरो) का पूर्वप्रमुख हेमन्त मल्ल ठकुरी डिजिटल युुगमा ठगीको माध्यम पनि डिजिटल नै हुने गरेको बताउँछन् । यस्तो अवस्था निकै चुनौतिपूर्ण रहेको उनको भनाई छ ।

‘सिस्टमलाई डिजिटलाइज गरेसँगै त्यसको सुरक्षामा पनि उत्तिकै ध्यान दिनु पर्ने हुन्छ,’ उनले भने, ‘डिजिटल युुगमा कुनै पनि अनुसन्धान अब टालटुले ढंगले चल्दैन । यस प्रकारका घटनाले अलर्ट चाहिँ गराइरहेको छ । त्यसका लागि आवश्यक जनशक्ति तयार गरिरहनु पर्ने हुन्छ । त्यो भइरहेको छैन ।’

यस्ता समस्यालाई चानुचुने ठान्नु नहुुनेमा जोड दिदै उनले भने, ‘भविष्यमा कुनै ठूलो घटना भयो भने अचम्म नमाने हुन्छ ।’
यता सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डिआइजी) गणेश चन्द भने उक्त विषयमा अनुसन्धान भइरहेको बताउँछन् । ‘त्यो कसले र कसरी लेख्यो भन्ने विषयमा केही पत्ता लागेको छैन,’ उनले भने, ‘डिएसपी नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।’

डिआइजी चन्दले अनुसन्धान भइरहेको बताउँदै गर्दा धनगढीमै अन्य कार्यालयका डिजिटल बोर्डका सिस्टमहरु पनि धमाधम ह्याक भइरहेका छन् । 

 

प्रतिक्रिया