धनगढी । कञ्चनपुरको एक होटेलबाट लागुऔषध बरामद गरिएको छ । भीमदत्त नगरपालिका-६ चम्मन चौराहस्थित रोल्पाली सुकुटी सेन्टर होटेलबाट शुक्रबार २.३१ ग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएको हो ।
दार्चुलाको महाकाली नगरपालिका-४ घर भई चम्मन चौराहमा उक्त होटेल चलाइरहेकी ४२ वर्षकी शान्ती ऐरलाई होटेलमा लागुऔषध पाइएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, वडा प्रहरी कार्यालय महेन्द्रनगर र लागुऔषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
यसैगरी, बेलौरी नगरपालिका-७ कालोपुलबाट कैलालीको गोदावरी नगरपालिका-८ स्याउले बस्ने २५ वर्षका अम्मर नेपालीलाई ३.३५ ग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र १.३२ ग्राम गाँजा जस्तो देखिने पदार्थसहित हिजो नै इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया