धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बाकावीर र लोकराज ढकाललाई सहिद घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अछाममा जन्मेका बलदेव शाह (बाकावीर) र कैलालीको लम्कीचुहा नगरपालिका –४ कौवापुरका लोकराज ढकाललाई सहिद घोषणाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।
यसअघि बाकाबीरलाई सहिद घोषणाका लागि जिल्ला समन्वय समिति अछामले प्रदेश सरकारलाई सिफारिस गरेको थियो । ढकाललाई लम्कीचुहा नगरपालिकाले सहिद घोषणा गर्न सिफारिस गरेको थियो ।
राणा शासकको दमनविरुद्ध अभियान चलाएका बाकाबीर जंगबहादुर राणाको निरंकुशताविरुद्ध लड्दालड्दै मारिएका थिए । ढकाल द्धन्द्धकालमा मारिएका पहिलो व्यक्ति हुन् । तत्कालीन तरुण दल कैलालीका सदस्यसमेत रहेका ढकाललाई तत्कालीन सशस्त्र विद्रोहीले ०५५ माघ ४ गते घरमा सुतिरहेको अवस्थामा हत्या गरेको थियो ।
प्रतिक्रिया