ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा अर्जुन ट्रफी आजदेखि : को खेलाडी कुन टिममा ?

शनिबार १९, माघ २०८१ ११:४३

धनगढी । कैलालीको धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । गो ड्रिमर्सको आयोजनामा नेपाल क्रिकेट संघको क्यालेण्डरअनुसार प्रतियोगिता हुन लागेको हो । 

शनिबार हुने उद्घाटन खेलमा डीसीए धनगढी र फ्रेन्ड्स क्लब डडेल्धुरा भिड्नेछन् । रनिङ ट्रफीका रूपमा टी-२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०(५० हजार पाउनेछन् । प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’लाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

को खेलाडी कुन टिमबाट ?
अर्जुन ट्रफीमा नेपाली क्रिकेट टोलीका खेलाडीहरू विभिन्न क्लबबाट खेल्दैछन् । डीसीए धनगढीबाट नेपाली क्रिकेट टिमका सदस्य ललितनारायण राजवंशी, लोकेश बम, नारायण जोशी, अमित श्रेष्ठलगायतका विभिन्न उमेर समूहका खेलाडीहरू खेल्दै छन् । फ्रेन्ड्स क्लब डडेल्धुराबाट नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामीलगायतका खेलाडीले खेल्दैछन् । 

सीवाइसी अत्तरियामा भीम सार्की, विवेक यादव, साहव आलम, रसिद खान, दिपेश कँडेल, सन्तोष कार्कीलगायतका खेलाडी छन् । न्यू होराइजन बुटबलबाट कुशल मल्ल, दिलिप नाथ, तुलबहादुर थापा, दिपक डुम्रे, प्रतिक श्रेष्ठलगायतका खेलाडीले प्रतियोगिता खेल्ने छन् । क्रिकेट एक्सिलेन्स सेन्टरमा नन्दन यादव, दीपेन्द्र रावत, सूर्य तामाङ, युनिसविक्रम सिंह, अर्जुन घर्ती र सोनु अन्सारीलगायतका खेलाडी छन् । 

दशरथ चन्द एकेडेमी बैतडीबाट भुवन कार्की, अमरसिंह रौटेला, खड्क बोहोरा, दीपक बोहोरा, बसन्त खत्रीलगायतका खेलाडी रहँदा घोडाघोडी-११ मा शेर मल्ल, नरेन साउद, आयुव चन्द, विपिनविक्रम शाहीलगायतका खेलाडी छन् । बोष्टन क्रिकेट झापाको टिममा पवन कार्की, रमेश भट्टलगायतका विभिन्न उमेर समूहका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेल खेलिसकेका खेलाडी छन् । प्रतियोगितामा सहभागी टिममा ‘ए’ क्याटोगोरीका चार जना, ‘बी’ क्याटोगोरीका पाँच जना र बाँकी ‘सी’ क्याटोगोरीका गरी १४ खेलाडी समावेश गरिएका छन् । 

'ए’ क्याटोगोरीमा नेपाली राष्ट्रिय टिमका खेलाडी छन् भने ‘बी’ क्याटोगोरीमा नेपाली राष्ट्रिय टिम ‘ए’, यु-१९ नेपाली राष्ट्रिय टिम र प्रदेशस्तरीय सिनियर खेलाडी छन् । ‘सी’ क्याटोगोरीमा यु-१६ नेपाली राष्ट्रिय टिम, प्रदेशका यु-१९ र यु-१६ का खेलाडी र अन्य खेलाडी छन् ।

पहिलो क्याच गर्ने दर्शकलाई एक लाख पुरस्कार
प्रतियोगितामा पहिलो क्याच गर्ने दर्शकले नगद एक लाख पुरस्कार पाउने भएका छन् । धनगढीको ब्रेड बक्सले प्रतियोगितामा मैदान बाहिर बसेका दर्शकले छक्का भएको बल क्याच गरेमा नगद एक लाख पुरस्कार दिने भएको हो । साथै अन्य क्याचमा पनि नगद पुरस्कार प्रदान गर्ने ब्रेड बक्सले जनाएको छ । यसका साथै खल्ती एपले क्याच गर्ने दर्शकमध्येबाट दैनिक रूपमा एक जनालाई एयर बडसहितको पुरस्कार पनि दिने भएको छ ।

प्रतियोगिताको खेललाई प्रत्यक्ष रूपमा मैदानमा गएर हेर्न खल्ती एपबाट टिकट काट्न सकिने सुविधा दिइएको छ । प्रतियोगिताका लागि भीआईपीतर्फ दुई सय र साधारणतर्फ एक सय रुपैयाँ टिकट दर तोकिएको छ । प्रतियोगिता हेर्न कृतिम प्याराफिट पनि बनाइएको छ । 

दर्शकका लागि फाप्लासम्म बस सेवा
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानसम्म बस सेवा सञ्चालन गरिएको छ । धनगढी उपमहानगरपालिकाले फाप्ला क्रिकेट मैदानसम्म बस सेवा सञ्चालन गरिरहेको हो । प्रतियोगिता अवधिभर अर्जुन ट्रफी हेर्न जाने दर्शकहरूलाई सहजताका लागि सहुलियत दरमा बस सेवा सञ्चालन गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । 
 

प्रतिक्रिया