ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

रोजगारीको माध्यम बने सालका पात

आइतबार १०, मङि्सर २०८१ ०८:२७

धनगढी । अधिकांश घरको आँगनमा सालका पात सुकिरहेका छन् । कोही पात मिलाएर मुठा पारिरहेका छन् । कोही जंगलबाट पात टिपेर फर्किरहेका छन् । दिउँसोको खानापछि कोही जंगल भएर पात टिप्ने सुरसार गर्दै छन् । कोही पात गाँसेर पातो बनाइरहेका छन् ।

खेतीपाती सकेर फुर्सदिला भएका धनगढी उपमहानगर वडा नम्बर १४ सानीडाँडाका किसानको दैनिकी यसैगरी चलिरहेको छ । दुना–टपरी बनाउन पात गाँसेर तयार पारेको पातो, फूलवारी सानाडाँडा दुना–टपरी उद्योगले सबै खरिद गरिदिन्छ । प्रतिपातोको साइजअनुसार दुई रुपैयाँसम्ममा खरिद–बिक्री हुन्छ ।

सात वर्षदेखि सानीडाँडाबासीका दैनिकी यसैगरी चलिरहेको छ । २०७४ सालमा गाउँमै दुना–टपरी बनाउने तालिम पाएका उनीहरुले समूहमै दुना–टपरी बनाउन थालेका थिए । तालिम दिने दातृ संस्थाको सहयोगमा उनीहरुले भारतबाट हाते मेसिन ल्याएर दुना–टपरी बनाउन थालेका थिए।

समूहमै रहेकी भावना पुलामी मगरले २०७५ मा एक लाख रुपैयाँ लगानी गरेर आफ्नै व्यक्तिगत उद्योग सञ्चालन गरिन्, फूलवारी सानीडाँडादुना–टपरी उद्योग । त्यसपछि समूहमा रहेका २४ जना र सानीडाँडाका अन्यले पनि सालको पात टिपेर पातो बनाउनेसम्मको काम गर्न थाले । 

भावनाले बालखैमा पात झरिरहेको बेला सुनेको ‘रुखबाट पैसा खस्दै छ’भन्ने भनाइ आफ्नै हातले साकार गर्न थालिन् । ‘झरिरहेको पातलाई प्रशोधन गरी बेच्न सकिने रहेछ,’ तिनै पातहरु आम्दानीको मूलस्रोत बनेपछि उनले भनिन्, ‘त्यही भएर मानिसहरु रुखबाट पात झर्दा पैसा झरिरहेको भन्थे ।’

करिब सात वर्षदेखि आफ्नै घरमा दुना–टपरी उद्योग चलाएकी भावना स्वरोजगार मात्रै बनेकी छैनन्,उनले ६ जना सहकर्मीलाई प्रत्यक्ष रोजगारी दिएकी छन् । उनको उद्योगमा सानीडाँडाबासीले थप आम्दानीको स्रोत पाएका छन् । मेसिनमा पातो राखेर दुना–टपरी बनाउने कामदारलाई प्रतिगोटा १५ देखि २५ पैसासम्म पारिश्रमिक दिने गरेको उनले बताइन् । भावनाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा दुना–टपरी प्रशिक्षकको परिचय पनि पाएकी छन् ।

दुईवटा इलेक्ट्रिक मेसिनबाट सुरु गरेको उनको उद्योगमा अहिले छ वटा दुना–टपरी बनाउने इलेक्ट्रिक मेसिन छ । पात गाँसेर बनाएको पातोलाई मेसिनमा राखेर दुना–टपरी बनाइ धनगढीदेखि पोखरा, काठमाडौंसम्म बिक्री गर्दै आएकी भावनालाई बजारको कमी छैन । ‘दुना–टपरी बेच्न बजारको कमी छैन,’ उनले भनिन्, ‘धेरैजसो दुना–टपरी पोखरा जान्छ । जति उत्पादन गर्न सक्यो, त्यति नै पोखरा पठाउन माग छ । पोखराबाट जापान जाने रहेछ ।’

पोखरा हुँदै दुना–टपरी जापानसम्म पुग्न थालेकाले जापानबाट उद्योगको अवलोकन गर्न पनि आउन थालेको भावनाले बताइन् । उनले पछिल्लो एक महिनामै जापानबाट दुई वटा टोली आएको उनले बताइन् । सातामा २० देखि २५ हजार रुपैयाँको दुना–टपरी बिक्री हुने गरेको भावनाले जानकारी दिइन् । ‘हप्तामा ४÷५ बोरा दुनाटपरी पोखरा पठाउँछु,’ उनले भनिन्, ‘साताकै २०/२५ हजार रुपैयाँको दुना टपरी बिक्री हुन्छ । चिसोले पात सुक्न समय लाग्ने भएकोले हिउँदमा दैनिक एक हजारदेखि १२ सय दुनाटपरी उत्पादन हुन्छ ।’

सुरु–सुरुमा दुना–टपरीको माग कम भए पनि पछिल्लो समय यसको माग बढ्दो छ । सरकारले प्लाष्टिक आयात बन्द गरेपछि बजारमा प्लास्टिक र फाइबरका भाँडाको साटो दुना–टपरी प्रयोग हुन थालेको छ । यसले गर्दा दुना–टपरीको माग अझै उच्च भएको भावनाले बताइन् । 

कैलाली र कञ्चनपुरमा १२ वटा दुना–टपरी उद्योग छन् । ती उद्योगीलाई समेटेर कैलाली–कञ्चनपुर दुना–टपरी समन्वय समिति बनेको छ । समितिमार्फत् सबै उद्योगले उत्पादन गरेका दुना–टपरी बिक्री गराउने काम समितिले नै गर्छ । उनले आफूले प्रशिक्षण दिएर दुना–टपरी उत्पादनमा लागेका महिलाले उत्पादन गरेको दुना–टपरीसमेत बिक्री गराइदिन्छिन् । समितिले दुना–टपरी संकलन र भण्डारणका लागि धनगढीमा भण्डारण र बिक्री कक्षसमेत बनाएको छ ।
 

प्रतिक्रिया