धनगढी । कैलालीको धनगढीबाट अपहरण आरोपमा तीन जना पक्राउ परेका छन् ।
कञ्चनपुरको बेलौरी नगरपालिका–५ घर भई अध्ययनका लागि धनगढी उपमहानगरपालिका बस्दै आएका १८ वर्षीय अमित नेगी, डडेल्धुराका १८ वर्षीय विशाल भट्ट र कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियाका २४ वर्षीय भुपी खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार उनीहरुलाई अपहरण गरी बन्धक बनाएर लागूपदार्थ खुवाउँदै कुटपिट गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरुको साथबाट एक थान खुकुरी पनि बरामद गरिएको डीएसपी बोहराले बताए ।
‘आरोपित तीन जनाले धनगढी उपमहानगरपालिका–४ तारानगर कोठा गरी बस्ने दुई जना १७ वर्षीय युवकलाई आइतबार कोठाबाट अपहरण गरेको भेटिएको छ,’ डीएसपी बोहराले भने, ‘धनगढी उप–महानगरपालिका–४ तारानगरस्थित बाझो घरमा बन्धक बनाएर पाँच ट्याब्लेट लागूऔषध खुवाएर कुटपिट गरेको पनि आरोप लागेको छ ।’
चेकजाँचका क्रममा कुटपिट गरेको भिडियो पनि भेटिएको डीएसपी बोहराले बताए ।
प्रतिक्रिया