धनगढी । डोटी भूकम्पको दुई वर्षभन्दा बढी तथा बझाङ भूकम्पको एक वर्षभन्दा बढी समयपछि बल्ल पुनर्निर्माण आयोजना कार्यान्वयन इकाइ खुल्ने भएको छ । बझाङमा २०८० असोज र डोटीमा २०७९ कात्तिकमा केन्द्रबिन्दु भएर भूकम्प भएको थियो । डोटीमा भूकम्प गएको २८ महिना भइसकेको छ भने बझाङ भूकम्पका १७ महिना बितेका छन् ।
तर, क्षतिको एकीन विवरण र आकलन नहुँदा पीडितहरुको अझै पुनस्र्थापना हुन सकेको छैन भने पुनर्निर्माणका कामसमेत अगाडि बढ्न सकेको छैन । सरकारले अब भने क्षतिको आकलन, पुनर्निर्माण तथा पुनस्र्थापनालाई तीव्रता दिने निर्णय गरेको छ । गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बिहीबार सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औं बैठक बसेको थियो । सोही बैठकले बझाङ र डोटीसंगै जाजरकोटमा भूकम्पपछिको क्षति आंकलन, पुनर्निर्माण र पुनस्र्थापनालाई तीव्रता दिने निर्णय भएको बताएका हुन् ।
गृहमन्त्री रमेश लेखकले बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भूकम्पपछिको पुनर्निर्माण एवं पुनस्र्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी रहेको बताएका हुन् । गृहमन्त्री लेखक आगामी फागुन २३ गते बझाङ, २४ गते अछाम र २५ गते जाजरकोट पुगेर पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने गृह मन्त्रालयले जनाएको छ ।
‘हामीले बितेको छ महिनामा विस्तृत क्षति आकलन र निजी घरहरुको पुनर्निर्माण एवं पुनस्र्थापन गर्न लागि आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापन भएको छ’, गृहमन्त्री लेखकले भने, ‘अब जाजरकोट, बझाङ र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरुमा भएको क्षति आंकलन गर्ने काम अगाडि बढ्नुका साथै पुनर्निर्माण र पुनस्र्थापनाको काम अगाडि बढाउँछौं ।’
डोटीमा ०७९ कात्तिक २३ गते बिहान २ः१२ बजे ६.६ म्याग्निच्यूड, कात्तिक २२ गते राति ९ः०७ बजे ५.७ र ९ः५६ बजे ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पमा छ जनाको मृत्यु भएको थियो । बझाङमा ०८० असोज १६ गते गएको भूकम्पका कारण एक जनाको मृत्यु, २९ जना घाइते र सात हजार बढी संरचनामा क्षति पुगेको थियो ।
प्रतिक्रिया