धनगढी । झट्ट हेर्दा कसैको विवाह अथवा ब्रतबन्ध भइरहेको जस्तो दृश्य देखिन्छ । छेउमै बनाइएको थियो, मण्डप । त्यो मण्डपका वरिपरी बसेका सबैका हातहातमा पुस्तक देखिन्थ्यो । त्यो दृष्य हो, धनगढी उपमहानगरपालिका–१ खुलामञ्चमा आयोजित सीप तथा रोजगार मेलाको । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको प्राविधिक सहयोगमा धनगढी उपमहानगरपालिकाले आयोजना गरेको मेलामा पुरोहित तालिम पनि सञ्चालन भइरहेको छ ।
फागुन ८ गतेदेखि सञ्चालन भइरहेको मेलामा २९ बिधाको तालिम सञ्चालन भइरहेकोमा २८ जनाले पुरोहित तालिम लिइरहेका छन् । पुरोहित तालिमका मुख्य प्रशिक्षक छन्, दार्चुलाको शैल्यशिखर नगरपालिकाका सहदेव जोशी । पुरोहित तालिममा १० वटा कर्म सिकाइरहेको जोशीले बताए । ‘गुरु आचरण विधी, नित्य पूजा, न्वारान विधी, जन्म संस्कार विधी, सत्यनारायण पूजा विधी, तुलसी विवाह, विवाह, ब्रतबन्ध, दश कर्म लगायतका कर्ममा पोख्त बनाउनका लागि तालिम दिइरहेका छौं,’ जोशीले भने, ‘पुरोहित कर्मलाई सीपसंग जोड्ने उद्येश्यका साथ यो तालिम सञ्चालन भइरहेको हो ।’
तालिममा पुर्खेउली पेशा नै पुरोहित भएका युवादेखि बृद्धसम्म सहभागी छन् । तालिममै भेटिए, कैलाली हसनपुरका विष्णुराज पन्त पनि । ‘पहिले पुरोहित कर्ममा खासै रुची लागेन,’ उनले भने, ‘उमेर ढल्किदै गएपछि बुवा–बाजेले गरेको पुरोहित पेशामा रुची बढ्यो । कर्मकाण्ड सिक्नका लागि अवसर खोजिरहेको थिए । अहिले सीप तथा रोजगार मेला लागेपछि सिक्न पाइएको छ । एक महिने तालिमपछि कर्मकाण्डको पोख्त भइन्छ भन्ने विश्वास छ ।’
धनगढी शिवनगराका सिद्धराज जोशी पनि पुरोहित तालिम लिइरहेका छन् । ‘पुर्खाबाट केही सिके पनि पुरोहितका कामका पोख्त नहुँदा विभिन्न समस्या आउने गरेको छ,’ उनले भने, ‘धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सीप तथा रोजगार मेलाबाट पुरोहित तालिम लिएपछि कर्मकाण्ड गर्दा कुनै समस्या नआउने विश्वास छ ।’
तालिमका मुख्य प्रशिक्षक जोशीका अनुसार कर्मकाण्ड सनातन वैदिक संस्कृतिको अभिन्न अंग हो । ‘हिन्दू धर्मका कुनै पनि उत्सव पूजापाठ एवं कर्मकाण्डविना पूर्ण हुँदैनन्,’ उनले भने, ‘योग्य पुरोहितविना कर्मकाण्ड सम्पन्न हुन असम्भव हुन्छ । सोही कारण कर्मकाण्डमा पोख्त बनाउने उद्येश्यअनुसार तालिम दिइरहेका छौं । यस्ता तालिमले पछिल्लो समय पुरोहित नै नपाउने समस्या पनि निराकरण गर्छ भन्ने हाम्रो विश्वास छ ।’
सीप तथा रोजगार मेलामा सुदूरपश्चिमका एक हजार ४० जना युवालाई २९ विधामा सीप सिकाउने अवसर प्रदान गरिरहेको छ । मोबाइल तथा सीसीटीभी मर्मत, बिल्डिङ इलेक्ट्रिकल, एसी तथा रेफ्रिजेरेटर मर्मत, अटो क्याड, हार्डवेयर नेटवर्किङ, ग्राफिक्स डिजाइनिङ, डिजिटल मार्केटिङ, फेसन डिजाइन, एडभान्स टेलरिङ, हेयर कटिङ तथा स्टाइलिङ, एडभान्स ब्युटिसियन, प्लम्बिङ, वेल्डिङ, इलेक्ट्रिक भेहिकल (इभी) मर्मत तथा लेखा व्यवस्थापन तालिम मेलामा समावेश गरिएको छ ।
यस्तै सांस्कृतिक पोसाक निर्माण, बेतबाँस क्राफ्ट, टायल तथा मार्बल फिक्स्चर, डकर्मी, मोटरसाइकल तथा स्कुटर मर्मत, रिसेप्सनिष्ट, वेटर, हाउस पेन्टिङ, फर्निचर तथा फास्टफुड कुकिङ तालिम निःशुल्क प्रदान गरिदै छ । धनगढी उपमहानगरपालिकाका अनुसार मेलामा १२ वटा वर्कसप सञ्चालन भइरहेका छन् । दैनिक दुई चरणमा १८ वटा तालिम सञ्चालन भइरहेका छन् ।
प्रतिक्रिया