धनगढी । क्यान्सर अस्पताल भक्तपुरको टोलीले सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगी स्वास्थ्य परीक्षण गर्न थालेको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको आग्रहपछि स्वास्थ्य टोलीले २२ चैतमा अछामको रामारोशन गाउँपालिका र २४ चैतमा डडेल्धुराको अमरगढी नगरपालिकामा शिविर सञ्चालन गरेको थियो ।
शिविरमा महिलाहरूको पाठेघर र स्तन क्यान्सर परीक्षण गरिएको थियो । टोलीले मंगलबार बर्दगोरियाको दोदोधरा अस्पतालमा स्वास्थ्य जाँच गर्ने डेभलोपमेन्ट रिसोर्स मोविलाइजेन्स नेटवर्कका निर्देशक प्रमोदराज ढकालले बताए ।
सुदूरपश्चिममा महिलाहरूमा आङ खस्ने, पाठेघर र स्तन क्यान्सरको समस्याका कारण महिलाहरूले पीडा भोगिरहेका छन् । मुख्यमन्त्री शाहले कुनै पनि महिलाले यो समस्याबाट अकालमा ज्यान गुमाउन नपरोस् भनी भक्तपुर क्यान्सर अस्पतालसँग महिलाहरूको स्वास्थ्य जाँचका लागि पहल गरेका थिए । अछाम र डडेल्धुरामा स्वास्थ्य जाँच गरी फर्केको टोलीसँग सोमबार मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुदूरपश्चिममा महिलामा हुने पाठेघर र स्तन क्यान्सरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
अछाममा २ सय ६० जना महिलाको पाठेघर क्यान्सर, ३ सय ५० जनामा स्तन क्यान्सर र डडेल्धुरामा १ सय ५० जना महिलाको पाठेघर क्यान्सर र १ सय ७० जनामा स्तन क्यान्सरको परीक्षण गरिएको डा। वर्षा प्रसाईंले जानकारी दिइन् । उनले अछामका ५ जनामा पाठेघर र १५ जनामा स्तन क्यान्सर तथा डडेल्धुरामा २० जनामा पाठेघर र २० जनामा स्तन क्यान्सरको शंका लागेकाले थप उपचारका लागि रिफर गरिएको जानकारी दिइन् । डडेल्धुरामा १ जनामा क्यान्सर देखिएपछि अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिको सहयोगमा क्यान्सर अस्पतालमा तत्काल उपचारका लागि रिफर गरिएको छ । शंका लागेर रिफर गरिएका बिरामीले स्वास्थ्य बीमा कार्ड रिफर कार्ड देखाइ जुनसुकै अस्पतालमा निःशुल्क क्यान्सर परीक्षण गर्न सक्नेछन् । स्वास्थ्य जाँचका लागि आठ वर्षका बालिकादेखि ६० वर्षभन्दा माथिका महिलाहरूको पनि सहभागिता थियो ।
परीक्षणमा अछाम र डडेल्धुरामा पाँचरपाँच सय महिलाहरूमा चेकजाँच गर्ने योजना रहेकोमा सो संख्यामा महिलाहरूको उपस्थिति नरहेको डा। प्रसाईंले बताइन् । उनले लजाउने, जनचेतनाको कमी, आर्थिक अवस्था कमजोर र यहाँको यातायातको समस्याका कारण स्वास्थ्य परीक्षणका लागि सबै महिला तथा बालबालिका नआएको हुन सक्ने बताइन् ।
क्यान्सर परीक्षणका लागि आएका करिब ८० प्रतिशतलाई सामान्य लक्षण देखिएकाले ५ देखि ७ दिनसम्मको निःशुल्क औषधि दिइएको सो अवसरमा जानकारी दिइयो । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। उज्ज्वल चालिसेको नेतृत्वमा २२ जनाको टोली सुदूरपश्चिम आएको हो ।
प्रतिक्रिया