धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारका मन्त्री, सचिव, चारै सुरक्षा निकायका प्रमुख तथा प्रदेशअन्तर्गत कार्यालयका प्रमुखसँग विभिन्न विषयमा छलफल गरेका छन् ।
बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशको शान्ति सुरक्षाको अवस्था, भन्सार चेकजाँच तथा आवागमन सहजीकरण, राजश्व संकलन र लागुऔषध नियन्त्रणका विषयमा छलफल भएको हो ।
मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशभित्रको शान्ति सुरक्षा चुस्त राख्न, लागुऔषध नियन्त्रण, सडक दुर्घटना न्यूनिकरण तथा पर्यटन प्रवद्र्धनका विषयमा प्रभावकारी रुपमा लाग्न निर्देशन दिए ।
उनले सर्वसाधारण जनतालाई राज्यले दिने सेवासुविधामा सहज पहुँचको वातावरण निर्माण गरी सम्मानजनक रुपमा सेवा प्रवाह गर्न पनि निर्देशन दिए । बैठकमा सुरक्षा निकायमा प्रमुखहरुले समग्र शान्ति सुरक्षा चुस्त रहेको ब्रिफिङ गरेका थिए । बैठकले शान्ति सुरक्षाको स्थितिलाई थप प्रभावकारी बनाउन संस्थागत समन्वय र सहकार्यलाई निरन्तरता दिने, प्रदेशस्तरमा सुरक्षा सम्बन्धि बैठक सम्भव भएसम्म मासिक रूपमा सञ्चालन गर्ने, भन्सार चेकजाँच, सीमामा आवागमन सहजीकरण, लागुऔषध नियन्त्रण गर्ने र रोजगारीका सिलसिलामा भारत जाने नेपाली नागरिकहरूको अभिलेख व्यवस्थापन कार्यलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि सरोकारवाला कार्यालयहरू र सुरक्षा निकाय समेतको प्रतिनिधित्व हुने गरी एक समिति गठन गर्न सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया