बैतडी । बैतडीका स्थानीय तहहरूले ‘अनलाइन’ प्रणालीबाट नागरिकता प्रमाणपत्रको सिफारिस दिन थालेका छन् । १० स्थानीय तहमध्ये हालसम्म ६ वटाले अनलाइनमार्फत सिफारिस दिन थालेका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
उनका अनुसार शिवनाथ र पञ्चेश्वर गाउँपालिका, मेलौली, पाटन, दशरथचन्द र पुर्चौडी नगरपालिकाले अनलाइनबाट नागरिकता सिफारिस दिन थालेका हुन् । कार्यालयका सेवा प्रवाह र सेवाग्राहीहरूको सहजताका लागि प्रविधिमैत्री बनाउने क्रममा नागरिकताको सिफारिस अनलाइन प्रणालीबाट दिन सुरु गरिएको उपाध्यायको भनाइ छ । 'स्थानीय तहहरूले वडाबाटै अनलाइनबाट नागरिकता प्रमाणपत्र बनाउन सिफारिस दिने काम गरेका छन् । यसले सेवाग्राहीलाई कागजात नमिलेर प्रशासन कार्यालयमा पुगेर खाली हात फिर्ता हुने झन्झटको अन्त्य भएको छ', उनले भने ।
अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री सेवा प्रवाह भएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए । उनले भने, 'अनलाइनको माध्यमबाटै सिफारिसको काम हुने भएपछि सेवाग्राहीलाई सहज भएको छ । यसअघि कुनै कागज अपुग भएमा जिल्ला प्रशासन पुगेर फर्किनुपर्ने झन्झट हुने गरेकामा अब सबै कागजपत्र पुगेर मात्रै नागरिकता बनाउन जानेछन् ।'
प्रतिक्रिया